पर्वत बेनीमा अलपत्र मजदुरको म्याग्दीका पत्रकार र प्रशासनको पहलमा उद्दार

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

विनाशकारी भूकम्पबाट भत्किएका घरहरु बनाउन गोरखा गएर लकडाउनका कारण घर फर्कने क्रममा बाटैमा अलपत्र परेका मजदुरहरुको उद्दार भएको छ । रुकुमको चौरजहारी नगरपालिका–५, मल्यासिम घर जाने भन्दै बुधबार पर्वत बेनी आएका १० जना मजदुरहरुको म्याग्दीका क्रियाशिल पत्रकार र जिल्ला प्रशासन कार्यालयको पहलमा उद्दार गरिएको हो ।

गएको पुस महिनामा रोजगारको सिलसिलामा गोरखाको फिनाममा घर बनाउने काम गर्न भनी गएका उनीहरु विश्वभर कोरोना भाइरसको कारण देशमा लकडाउन भएपछि हिँडेरै घर जान फर्किएका थिए । गत शुक्रबार गोरखाबाट पैदल हिँडेर २ दिनमा पोखरा आई बसेका मजदुरहरु मङ्गलबार साँझ पर्वतको कुश्मा आएर बसेको बताएका छन् । बुधबार बिहानै कुश्माबाट हिँडेर पर्वतको मिलनचोक हुँदै १२ बजे बेनी आइपुगेका उनीहरु म्याग्दी प्रवेशमा रोक लगाइएका कारण अलपत्र परेका थिए ।

घर जान भनेर हिँडेका मजदुरहरु बाटैमा अलपत्र परेको भन्ने सूचनाको आधारमा रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँग आवश्यक समन्वय गरी उनीहरुलाई जीपको व्यवस्थापन गरी बागलुङ पठाइएको छ । अलपत्र परेका मजदुरहरुको उद्दारका लागि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सदस्य बलादेवी राईले समन्वय गरेकी थिइन् ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बागलुङमा समन्वय गरी अलपत्र मजदुरहरुलाई बागलुङसम्म पठाउने कार्यमा आवश्यक सहजीकरण गरेका थिए । उनीहरुलाई बुधबार बागलुङमै राख्ने र बिहीबार बुर्तिबाङसम्म पठाउनका लागि आवश्यक व्यवस्था मिलाइएको छ भने बुर्तिबाङबाट रुकुमका प्रमुख जिल्ला अधिकारी आफै आएर मजदुरलाई गृहजिल्ला लैजानका लागि टेलिफोनमार्फत समन्वय गरिएको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले बताए ।

लकडाउनका कारण काम बन्द भएपछि खान र बस्न समस्या भएका कारण आफूहरु हिँडेरै घर जाने भन्दै आएको मजदुर पवन केसीले बताए । उनले म्याग्दीका पत्रकार, प्रहरी, प्रशासन, मजदुर सङ्गठन तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई घर फर्किन वातावरण मिलाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

सोही अवसरमा लायन्स क्लब अफ बेनी पिस सिटीले अलपत्र मजदुरहरुलाई खाजाको व्यवस्था गरेको छ । म्याग्दीदेखि गृहजिल्ला रुकुम पुग्दासम्म आवश्यक खाजाका लागि भन्दै ३ कार्टुन चाउचाउ, २ कार्टुन पानी, बिस्कुट, र भुटेको मकैसहितका खाजाहरु सहयोग गरिएको पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।