क्षेत्री महिला समाजद्वारा स्वास्थ्यकर्मीलाई २५ थान मास्क सहयोग

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

क्षत्री महिला समाज म्याग्दी र बेनी नगर समाजले बुधबार २५ थान एन नाइन्टी फाइप मास्क सहयोग गरेको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको विरुद्ध अग्रपङ्तिमा रहेर उपचारमा खटिएको भन्दै स्वास्थ्यकर्मीहरुका लागि मास्क हस्तान्तरण गरिएको हो ।

उक्त मास्क क्षत्री महिला समाजका जिल्ला अध्यक्ष कमला जिसीले म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेकी छिन् । कुल १३ हजार सातसय ५० रुपैयाँ बराबरको मास्क खरिद गरेर कोरोना विरुद्धको उपचारमा खटिने बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सहयोग गरिएको क्षत्री महिला समाजका अध्यक्ष जिसीले बताइन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाममा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले मास्क उपलब्ध गराइएको क्षत्री महिला समाजले जनाएको छ । बजारमा विभिन्न प्रकृतिका मास्कहरु प्रयोगमा रहेपनि एन नाइन्टी फाइप मास्क सबैभन्दा भरपर्दो र सुरक्षित मानिन्छ ।

धुँवा, धुलोका साथै विभिन्न प्रकारका रोगको संक्रमण हुनबाट बच्न मास्कको प्रयोग गर्ने गरिन्छ ।मास्क हस्तान्तरण कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारी, क्लिनीकल कोअर्डिनेटर डा. नवराज वस्ताकोटी लगायतको उपस्थिति रहेको थियो । क्षत्री महिला समाजले आगामी दिनमा पनि सचेतनामूलक कार्यमा सहयोगलाई निरन्तरता दिने भएको छ ।