अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत

0
Shares

भोजपुर । 

भोजपुरका अधिकांश स्थानीय तहले लापरवाहीपूर्ण ढङ्गले क्वारेन्टाइन निर्माण गर्दा समस्या उत्पन्न हुने देखिएको छ । लकडाउन अवधिमा विभिन्न स्थानबाट आएकालाई राख्नका लागि निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थित नभएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । क्वारेन्टाइन निर्माणमा स्थानीय तहले बेवास्ता गर्दा क्वारेन्टाइनमा बसेकाहरु परालको गुन्द्री र तन्दामा सुत्न बाध्य हुन् । जसको कारण उनीहरुमा अन्य सङ्क्रमण हुन सक्ने चुनौती देखिएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–१४ वोयाको महेन्द्रदय माध्यमिक विद्यालयमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा लापरवाही भएको फेला परेको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । त्यस क्वारेन्टाइनमा १८ जनालाई राखिएको छ । प्रजिअ पुरीले भन्नुभयो, “हामीले सबै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनको स्थलगत अनुगमन गरिरहेका छौँ, केही स्थानीय तहबाहेक अन्यले निर्माण गरेका क्वारेन्टाइन श्यया मापदण्डविपरीत बनेका छन्, कतिपय स्थानीय तहले काठको फल्याकमा एउटा प्लास्टिकको म्याट राखेर श्यया बनाएको पनि पाइयो, त्यस्ता क्वारेन्टाइनलाई सुधार गर्न निर्देशन दिएका छौँ ।”

नगरपालिकाले सहयोग नगर्दा तत्काल समस्या समाधानका लागि यस्तो क्वारेन्टाइन निर्माण गर्न बाध्य भएको वडा कार्यालयले जनाएको छ । आवश्यक स्रोत र साधनको अभावमा काम गर्न समस्या भएकाले यसमा नगरपालिकाले ध्यान दिनुपर्ने वडाध्यक्ष झम्कबहादुर रोक्काले बताउनुभयो । वडाध्यक्ष रोक्काले भन्नुभयो, “वडाको आफ्नो क्षमताअनुसार क्वारेन्टाइन निर्माण गरेको हो, नगरपालिकालाई क्वारेन्टाइन निर्माणका लागि कुरा गर्दा चासो नदिएकाले समस्या समाधानका लागि मात्र यो क्वारेन्टाइन निर्माण गरिएको हो ।”

वडाको आर्थिक क्षमता कम भएकाले व्यवस्थित गर्न नसकेको वडाध्यक्षको भनाइ छ । कतिपय क्वारेन्टाइनमा बस्नेले आफैँ ओढ्नेओछ्याउने ल्याएको समेत उहाँले बताउनुभयो । “वडामा एकैपटक १८ जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भयो, त्यसको व्यवस्थापनका लागि मैले नगरपालिकासँग कुरा गरेँ, आफँै व्यवस्थापन गर्नुहोस् भनेपछि कतिपयलाई मानवताको हिसाबले आफ्नै पैसाले ओछ्याउनका लागि म्याट र ओढ्नलाई बर्को ल्याएर दिएको छु, यहाँ बस्नेको अवस्था निकै दयनीय छ”, वडाध्यक्ष रोक्काले भन्नुभयो ।

नगरपालिका उपप्रमुख मेरिका राईले आवश्यक स्रोत र साधनका आधारमा क्वारेन्टाइन निर्माण गरेको बताउनुभयो । सकेसम्म मापडण्डअनुसार बनाउने कोसिस गरे पनि धेरै ठाउँमा क्वारेन्टाइन निर्माण गर्नुपरेकाले समस्या भएको र आगामी दिनमा मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरिने उहाँको भनाइ छ । उपप्रमुख राईले भन्नुभयो, “हाम्रो स्थानीय तहमा निर्माण भएका धेरै क्वारेन्टाइन आवश्यक मापदण्डअनुसार बन्न सकेका छैनन्, धेरै ठाउँमा क्वारेन्टाइन बनाउनुपर्ने भएको यस्तो भएको हो, आगामी दिनमा सुधार गर्दै लैजाने गरी काम गर्ने तयारीमा छौँ ।”

नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई खानाको व्यवस्था भने गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिकाबाहेका अधिकांश स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइन मापडण्डअनुसार नपाइएकाले त्यसलाई सुधार गर्न निर्देशन दिएको जनाएको छ । भोजपुरमा हालसम्म ६० जना क्वारेन्टाइनमा, ९८ जना होम क्वारेन्टाइनमा छन् ।

त्यस्तै जिल्लाभर ३९० क्वारेन्टाइन र १४ आइसोलेसन वार्ड निर्माण भएका छन् । जसमध्ये धेरै मापडण्डविपरीत छन् । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षणमा पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका परिवारका सदस्यसहित अन्यको स्वास्थ्य परीक्षण गरिएको छ । उनका बुबा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी टेष्ट गरिएको हो । उनीहरु सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिनुभयो ।

गही फागुन ३० गते साउदीबाट काठमाडौँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई ९आरडिटी० रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । आरडिटी पोजेटिभ देखिएका ती युवाको स्वाब सङ्कलन गरी कोरोना पुष्टीका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । ती युवाको बुधबार गरिएको आरडिटी टेष्टमा पोजेटिभ नतिजा आएको थियो ।