अलपत्र परेका मजदुरलाई खाना खुवाएर गन्तब्यतर्फ पठाईयो

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाको नेतृत्व एवं मानवीय आस्था नेपाल सहितको सहयोगमा भक्तपुरको गठ्ठाघरमा ८०० जनालाई खाना खुवाईएको छ । सडकमा अलपत्र परेका, घर फर्कन लागेका र अस्पतालका विरामी कुरुवालाई खाना खुवाएको कासिछ्वाले जानकारी दिनुभयो ।

यसैगरी सूर्यविनायक नगरपालिका ८ जगातीमा सडकमा अलपत्र परेका र बिभिन्न जिल्ला हुदै घर फर्कनेहरु करिब १ हजार ६ सय ९५ जनालाई खाना खुवाएर घर फर्काएको छ । महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले प्रहरीले थर्मन गनबाट उनीहरुको ज्वरो नाप्ने, खाना खुवाउने ठाउँको व्यबस्था र गाडी खोजेर घर फर्काउने काम दैनिक गरिहरेको जानकारी दिनु्भयो ।

हिजो मात्रै संघीय सांसद महेश बस्नेत, वागमति प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, बसुन्धरा हुमागाईको पहलमा सिन्धुली र रामेछापका ९९५ जनालाई घर फर्काएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहरा र दोलखाको मैलुङ्ग गापाका बिदुर कार्कीलगायतले आफै आएर आफुना नागरिकलाई जगातीबाट गाडीमा हालेर लानु भएको छ ।

गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले उपलब्ध गराएको बसहरुमा हालेर दोलखा,रामेछाप र सिन्धुलीका बिभिन्न ठाउँका मानिसलाई खाना खुवाएर घर पठाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।

यस अघि पनि उर्जामन्त्री बर्षामान पुन र संघीय सांसद पुर्णकुमारी सुबेदीको सकृयतामा सडकमा अलपत्र परेका ७ सय भन्दा बढी मजदुरहरुलाई हुम्ला, जुम्ला, रोल्पा, दाङ, ओखलढुंगा, सर्लाही, महोत्तरी,बारा पार्सा लगायतका जिल्लामा पठाईएको थियो ।

जगातीमा सूनपा ८ सिपाडोलका वडाध्यक्ष किरण थापा, सिपाडोल क्षेत्र परोपकार समाज, मानवीय आस्था नेपालको सहयोगमा आज ७०० जनालाई दिउँसोको खाजा र साँझको खाना खुवाएर बिभिन्न गाडीमा हालेर घर फर्काएको छ । कसैलाई सडकमा अलपत्र नपार्ने र घर फर्कन चाहनेलाई त्यसको व्यबस्था गर्ने तथा यही बस्नेलाई राहतको व्यबस्था गर्ने सांसद बस्नेतले बताउनुभयो ।