सडकमा हिड्ने मजदुरलाई खाना खुवाउन पाँच ठाउँमा मेस


 न्युज अफ नेपाल, पर्वत ।

लक डाउनका कारण काम बिहीन भएपछि अलपत्र परेका मजदुर र पैदलयात्रीलाई खाना खुवाउन पर्वतका पाँच ठाउँमा मेस स्थापना गरिएको छ । मजदुर र पैदलयात्री भोकभोकै हिड्न नपरोस भनेर पर्वतका पाँच स्थानिय तहमा मेस सञ्चालनमा ल्याएको हो । मुख्य सडक र जिल्ला वारपार हुने पर्वतका दुई नगरपालिका र तीन गाउँपालिकमा मेस सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

घरमा जान डिहेका र काम नपाएर अलपत्र परेका मजदुरलाई आवासको सुबिधा सहितको मेस सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । धौलागिरीकै मुख्य प्रबेशद्वारको रुपमा रहेको मोदी गाउँपालिकाको पातीचौरमा मेस स्थापना गरिएको छ ।

गाउँपालिकाले भद्रखोला र स्थानिय युवाहरुले डिमुवामा छुट्टाछुट्टै मेस राखेर खाना खुवाईरहेका बेला प्रशासनको पहलपछि दुबैले एउटै मेस पशुपति आधारभूत बिद्यालयमा सञ्चालन गर्न थालेका छन । कुस्मा नगरपालिकामा शिबालय माबिमा मेस सञ्चालनमा आएको छ । मेसमा दैनिक पोखरा बागलुङ्ग सडकमा हिडेका मजदुरलाई खाना खुवाउने काम भैरहेको वडा नं ६ का अध्यक्ष रुद्र गिरीले बताउनुभयो ।

जलजला गाउँपालिकाको मिलनचोकमा र फलेबास नगरपालिकाको मुडिकुवा माटेदेवल माबिमा मेस सञ्चालनमा आएको छ । बिहादी गाउँपालिकामा पनि मेस सञ्चालनमा रहेको छ । लक डाउनमा कडाई गरिएपछि मजदुरहरु कालीगण्डकीको किनारै किनार घर हिडेपछि फलेबास र बिहादीमा मेस राखेर खाना खुवाईएको थियो ।

बिहादीले झण्डै सय जनालाई खाना खुवाईको प्रमुख प्रशासकीय अधिकृत ऋषि पन्थीले जानकारी दिनुभयो । पछिल्लो समयमा सडकमा हिडेका मजदुरलाई खाना खुवाउने र यातयातका साधनमा चढाएर घर जान समेत दिन थालिएपछि मोदी र कुस्मामा बढी चाप हुन थालेको छ । मोदीमा दैनिक रुपमा मजदुरहरुलाई खाना खुवाउने काम चलिरहेको छ ।