यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२ सय पीपीई किट्स हस्तान्तरण


न्यूज अफ नेपाल, काठमाडौ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धता अनुरुप संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले १ हजार २ व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्सहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल, चीन र यूएनएफपीएबीचको दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको थियो । तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पिपिइ किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् ।

पीपीइ किट्सहरु ग्रहण गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले भन्नुभयो– “यी किट्सहरु सही सयममा आइपुगेका छन् ।” यसले कोभिड–१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई धन्यवाद दिनुभयो ।

“नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ,” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि लुब्ना बाकीले भन्नुभयो ।

“नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर यस महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।”

यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पिपिइ किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ ।

यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।

“अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा हुन्छन् । यसैले एकद्धार संकट व्यवस्थापन केन्द्र, सुरक्षित आवास र हेल्पलाइनबाट लैङ्गिक हिंसा पीडितलाई जीवनरक्षाका लागि आवश्यक पर्ने सहयोग र हेरचाहलाई थप सुदृढ बनाउनुपर्छ,” –यूएनएफपीए प्रतिनिधिले भन्नुभयो ।