क्वारेन्टाइनबाट भागेका युवा पक्राउ


घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती नगर क्वारेन्टाइनबाट भागेका तिन युवा मंगलबार राती पक्राउ परेका छन् । नगरप्रहरीको निगरानीमा बसेका ति युवा अघिल्लो रात एकाएक भागे पछि वडा प्रतिनिधि र सुरक्षाकर्मी मिलेर खोजी कार्य गरिएको थियो ।

क्वारेन्टाईनबाट भागेका ति युवालाई वडा नं १ रिठ्ठेपानीमा लुकेर बसेको अवस्थामा राती २ बजे पक्राउ गरिएको नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनु भयो ।

पक्राउ परेका तिनै जना युवालाई पुनः सोही क्वारेन्टाईनमा लगेर राखिएको छ । कावासोती १ का वडाध्यक्ष नारायण पन्तका अनुसार केही दिन अघि आफ्नो वडाका परियार थरका एक युवा भारतबाट आएका थिए ।

ति युवा संग अन्य २ जना साथी सम्पर्कमा पुगेको थाहा भए पछि तिनै जनालाई क्वारेन्टाईनमा पठाईएको थियो । भारतबाट आउने युवा गांजाको अम्मली रहेको र अन्य दुई साथी पनि अम्मलकै खोजीमा उनको सम्पर्क पुगेको बताईन्छ ।

पक्राउ परेका ३ युवा सहित हाल ११ जना क्वारेन्टाईनमा रहेको नगरपालिका का स्वाश्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनु भयो ।