स्यानिटाइज गरेर मात्रै गण्डकी प्रदेश प्रवेश

0
Shares

मिला दरै,तनहुँ ।

कोभिड १९को संक्रमणको जोखिम बढेसँगै स्यानिटाइज गरेर मात्रै गण्डकी प्रदेश प्रवेश गर्ने व्यवस्था गरिएको छ । प्रदेशको प्रवेशद्वार मुग्लिन पुल हुँदै भित्रिने सम्पूर्ण सवारीसाधनलाई मंगलबारदेखि स्यानिटाइजर छरेर मात्रै प्रवेश गराइएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ । कोभिड–१९ को उच्च जोखिमको सम्भाव्यतालाई मध्यनजर गर्दैै थप सतर्कताका लागि सवारी साधनमा स्यानिटाइजर छर्केर मात्रै प्रदेश प्रवेश गराउने गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो ।

‘प्रदेशको प्रवेशद्वार हुनुका साथै सबैभन्दा पहिले आँबुखैरेनीवासीको स्वास्थ्यलाई सुरक्षित गराउन यस्तो कदम अगाडि बढाइएको हो,’ अध्यक्ष थापाले भन्नुभयो । स्यानिटाइजर छर्नका लागि कर्मचारी नै खटाएको आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार स्यानिटाइजर छर्नका लागि खटिने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयले पारिश्रमिकको व्यवस्था गरेको छ भने अन्य व्यवस्थापन आँबुखैरेनी गाउँपालिकाले गरेको छ ।

प्रदेशको प्रवेशद्वार भएकाले प्रदेश सरकारको आग्रहमा आँबुखैरेनी गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँ, भेटेनरी अस्पताल तनहुँको सहयोगमा गण्डकी प्रदेशको मुख्य नाका मुग्लिङ्ग पुल हुदै आँबुखैरेनी गाउँपालिका प्रवेश गर्ने सबै सवारी साधन, चालक तथा यात्रुलाई स्यानिटाइजर छरेर मात्र गण्डकी प्रदेश प्रवेश गराइने व्यवस्थापन गरिएको छ ।