स्वदेश फर्कने व्यबस्था मिलाइदिन दुतावासलाई आग्रह

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कतारमा रहेका नेपालीले स्वदेश फर्कने व्यबस्था मिलाइदिन नेपाली दुतावास दोहा कतारलाई आग्रह गरेका छन् । उनीहरुले नेपाली दुतावासमा फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत् स्वदेश आउने व्यबस्था मिलाइदिन आग्रह गरेको त्यहाँबाट पत्रकार अनिल पराजुलीले बताएका छन् ।
नेपाली दुतावास दोहा कतारले विभिन्न माध्यमबाट नेपालीले स्वदेश फर्कने व्यबस्था मिलाइदिन आग्रह गरेपछि नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्दै आएको दुतावासको आधिकारिक पेजमार्फत् जानकारी दिएको उनले पठाएको जानकारीमा उल्लेख छ ।

कम्पनीबाट रिजाइन दिएर बसेका कतिपय नेपालीहरु अहिले समस्यामा छन् । उनीहरुसँग न काम छ, न त उनीहरु घर आउने अबस्थामा छन् । नेपालले उडान रद्ध गरेपछि उनीहरु कोठामै बस्न बाध्य भएका छन् । कोरोनाको संक्रमणपश्चात् फोर्स रिजाइनमा परेकाहरु पनि अन्यौलमा छन् । उनीहरुले नेपाल सरकारसँग दुतावासले समन्वय गरेर चार्टर जहाजमार्फत् भए पनि स्वदेश फर्काउने व्यबस्था मिलाइदिन आग्रह गरेका छन् ।

स्वदेश आएर परिवारसँग बस्ने चाहना राख्नु स्वभाविक भए पनि अहिलेको विषम परिस्थितिप्रति दुतावास पूर्ण सचेत रहेको उल्लेख गरिएको छ । परिस्थिति सामान्य भएर नेपाल आउने वातावरण नहुञ्जेलसम्मका लागि कतारमा रहेका नेपालीहरुले एक अर्काको मनोबल बढाएर एकजुट भएर रहन आग्रह गरिएको छ ।
दुतावासले जो जहाँ छन्, त्यही सुरक्षित बस्न आग्रह गरेको छ ।

कोरोना संक्रमित भएर कतारमा उपचारार्थ रहेका नेपालीहरुको स्वास्थ्य लाभको कामना गर्दै दुतावासले आफू सुरक्षित बस्न र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । कतारमा खाना तथा बसोबासलगायत समस्या समाधानका लागि दुतावासले कतारको सम्बन्धित निकाय, रोजगारदाता कम्पनी, गैरआवासीय नेपाली संघ र अन्य संघसंस्थासँग समन्वयमार्फत् सहजीकरण गरिरहेको जानकारी दिएको पत्रकार पराजुलीले बताएका छन् ।

हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली कार्यरत् छन् । भिजिट भिसामा कतार गएर भिसाको म्याद सकिएकालाई जरिवाना नलाग्ने भएको छ । भिजिट भिसामा कतार गएर स्वदेश फर्कन नपाएकाहरुले भिसाको म्याद नथपी बस्न पाउने कतारको गृह मन्त्रालयले जनाएको छ । भिसाको म्याद सकिए पनि कुनै जरिवाना नतिरी बस्न पाइने मन्त्रालयले जनाएको छ ।

उडानहरु सुचारु नभएसम्म कतारमा रहँदा भिजिट भिसामा आएकाहरुलाई कुनै पनि जरिवाना नलाग्ने बताइएको हो । बन्द रहेका उडानहरु सुचारु भएपछि उक्त भिसामा कुनै रोकतोकबिना स्वदेश फर्कन दिइने भनिएको छ । कतार घुम्न गएका र भिसा अवधि सकिँदा पनि स्वदेश फर्कन नपाएकालाई कानुनअनुसार बस्न पाउने कतारले बताएको छ । कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशले उडान रद्ध गरेको अबस्था छ ।

प्रवेशमा पनि प्रतिवन्ध लगाएका कारण नेपालीसहित अन्य देशका नागरिक स्वदेश फर्कनसक्ने अबस्था छैन ।कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ३३ पुगेको छ । मंगलबार थप ५ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ सय १४ जना निको भएर घर फर्किएका छन् ।