गाउँको बिषयमा सरकारको ध्यान पुगेन

0
Shares

भगवती तिमल्सिना,काठमाडौ ।

देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त छ । महामारीको प्रभावका कारण अस्पतालहरुले दिने साविकका सेवाहरु समेत प्रभावित भइरहेका छन् । यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको समस्याप्रति सरकारको मात्र नभै सरकारको समेत ध्यान पुग्न नसकेको चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व प्राध्यापक डा.गोविन्द केसीले डडेलधुराबाट जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

विज्ञप्तिमा भनिएको छ—लकडाउन लम्बिंदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ । हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिकहरुका बारेमा समाचारहरु आइरहेका छन् । यो समयमा ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको समेत ध्यान पुगेको छैन ।

सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामीहरुको संख्या लकडाउनमा घटेको छैन, बरु बढेको होला । हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता धेरै बिरामीहरुको पीडा देखेको छु । यो समस्या कुनै एक जिल्लाको मात्र नभई देशभरकै हो ।
यो अवस्थामा एम्बुलेन्सहरु सबै बिरामीलाई अस्पताल पु¥याउन पर्याप्त छैनन् ।

फलस्वरुप दुरदराजका बिरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य छन् । त्यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेका छन् । शुरुमै यातायातका लागि त्यति पैसा जम्मा गर्न नसक्नेहरु अस्पतालै नआइ गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बसिरहेका छन् ।

त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ ।
अर्कोतिर सरकारी गाडीहरु अहिले निस्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु ।

स्मरण रहोस, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।
अन्तमा, यो विश्वव्यापी संकटलाई हामी सबैले एकसाथ झेलिरहेका छौं र यसबाट पार पाउन समाजले गरिरहेको संघर्षमा हामी पनि साथमै छौं । कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी साथीहरु लगायत सबैको सुरक्षाको कामनासहित, डा.गोविन्द केसी, डँडेलधुरा ।