म्याग्दीमा एक जना डेंगु तथा स्क्रबटाईफस रोगको संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

देशका विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितहरु भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगु र स्क्रबटाइपस रोगका संक्रमित भेटिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा एकजना युवामा डेंगुरोगको संक्रमण भेटिएको बेनी अस्पतालले जनाएको छ ।

मंगला गाउँपालिका–५, अर्मनका १७ वर्षीय युवामा उच्च ज्वरो, जोर्नी दुख्ने तथा जाडो हुने जस्ता लक्षणहरु देखिएपछि ल्याब परीक्षण गर्दा डेंगुरोग र स्क्रबटाईपसको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर अजय गौतमले बताउनुभयो । १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएको ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भैरहेको र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

गर्मी बढ्दै गएपछि म्याग्दीमा डेंगुरोगका पहिलो बिरामी पत्ता लागेको हो । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगुरोग सार्दछ । दिउँसोको समयमा सक्रिय हुने यो लामखुट्टे पानी जमेको ठाउँमा बस्ने र फूल पार्ने गर्दछ । भाइरसबाट सर्ने भएकाले यस रोगको हालसम्म खोप तथा खास उपचार भने छैन । यसैगरी मुसाको टोकाई वा संक्रमणबाट स्क्रबटाइपस रोग मानिसमा सर्ने चिकित्सकहरु बताउँछन् ।

डेंगु र स्क्रबटाइपस दुवै रोगबाट उच्च ज्वरो आउने लगायतका लक्षणहरु देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेको समेत पाइएको छ । डेंगु र स्क्रबटाइपस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सुरक्षा सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । गतवर्ष म्याग्दी जिल्लामा १२ जनामा डेंगुरोग तथा एक महिलामा स्क्रबटाईपसको संक्रमण भएको थियो ।