असिना पानीले सिन्धुलीमा बालीनाली नष्ट, कृषि बिमा गर्न किसानलाई आग्रह

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीमा आईतवार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली तथा फलफुलमा नष्ट गरेको छ । जिल्लाको कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउपालिका लगायत महाभारत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी,फलफुल खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् ।

लामो समयसम्म भारी असिना परेपछि खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो । असिनाले फल लाग्न लागेको जुनारमा ठुलो क्षति गरेको गोलन्जोर गाउपालिकाका जुनार किसान निर्मल रम्तेलले बताउनुभयो ।

गोलन्जोर गाउपालिमामा अन्तर्गतको जुनार सुपरजोन क्षेत्रका जुनार, सुन्तला बगान र तरकारी बालीहरुमा समेत असिनाले क्षति पुगेको रम्तेलले जानकारी दिनुभयो । सिन्धुलीमा आईतवार दिउसो देखि मंगलवार दिउसो सम्म पानी परेको थियो ।

असिना पानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा नष्ट बनाएको किसान बताउँछन् । कडाउनका कारण असिनाले जुनारमा कति क्षति भएको भनेर अध्ययन गर्न नपाइएको जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले बताउनुभयो ।

उहाँले यस्ता प्राकृतिक रुपमा हुने क्षतिबाट किसानलाई मर्का नपरोस् भनेर सरकारले बाली बिमाको निति ल्याएको बताउदै हरेक किसानले बाली बिमामा ध्यान दिनुपर्ने बताउनुभयो । केही दिन यता हावाहुरीसहित परेको असिना पानी र चट्याङका कारण सिन्धुलीमा धेरै प्रभावित बनेको छ ।