दीर्घरोगीलाई निःशुल्क औषधी उपलब्ध गराउने


शिक्षा पन्त, लमजुङ ।

लमजुङको बेसीशहर नगरपालिकाले नियमित औषधी सेवन गर्ने दीर्घरोगीका विरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने भएको छ । लकडाउनको समयमा दीर्घरोगी नागरिकले सम्बन्धीत स्वास्थ्यसंस्थामा पुगेर औषधी ल्याउन नसक्ने भएकाले नगरपालिकाले स्वास्थ्य संस्थाबाट ल्याउने र नागरिकलाई घरमा पुर्याउने व्यवस्था मिलाएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार दीर्घरोग क्यान्सर, दम, प्रेसर, सुगर लगायतका विरामीका लागि नगरपालिकाले सो व्यवस्था गर्न लागेको हो । नगर कार्यपालिकाको बैठकले औषधी अभाव भएका तथा समस्या परेका विरामीले सम्पर्क गरेमा औषधीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

त्यस्तै नगरपालिकाले डायलासिस गराईरहेका मृगौलाका विरामीहरुलाई जिल्लाबाहिर जान समस्या भएमा लकडाउनको अवधिभर ३/४ जनाको समुह बनाएर निशुल्क एम्बुलेन्स उपलब्ध गराउने नगरप्रमुख अर्यालले बताउनुभयो ।