पुलमा स्थानीयको शिलबन्दी, प्रशासन मौन


नेपाल समाचारपत्र, काठमाडौं

काठमाडांै महानगरपालिका वडा नं. ३२ जडिबुटी र नरेफाँट तथा मध्यपुर थिमी नगरपालिकाको मनोहरावस्ती जोड्ने पक्की पुल र बेलिब्रिजमा मनोहरावस्तीका बासिन्दाले जबरजस्ती आफ्नो साइडतर्फ फलामको पाइप नै वेल्डिङ गरेर गत तीन दिनदेखि सवारी आवागमन बन्द गरेका छन् ।

यसैगरी, मनोहरा फाँटबाट मनोहरा तरकारी बजार जडिबुटीमा आउनका लागि बनाएको फलामे ट्रस्ट पुल पनि तरकारी बजार जडिबुटी साइडबाट बन्द गरिएको छ । नरेफाँटबाट सीधै इमाडोलतर्फ जान मनोहरा खोलामा बनाइएको बाँसको अस्थायी पुल पनि भत्काइएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९)का कारण आफ्नो वस्तीलाई सुरक्षित राख्ने भन्दै स्थानीय मनोहरावस्तीका बासिन्दाले पक्की पुल बन्द गराएका हुन् ।

स्थानीयले कानुन आफ्नो हातमा लिँदै मनोहरावस्तीका यी दुईवटा पक्की पुल फलामे पाइप राखेर पक्की तवरमै वेल्डिङ्ग गरेर बन्द गरिँदा भक्तपुरको महानगरीय प्रहरी वृत्त थिमी र काठमाडांैतर्फको नयाँबानेश्वर वृत्तका प्रमुखहरुले मौन समर्थन गरेको भन्दै सर्वसाधारण आक्रोश व्यक्त गर्छन् ।

पुल बन्दसँगै सवारी आवागमनमा कमी भएपछि दुवै साइडका सुरक्षाकर्मी भने दंग देखिन्छन् । यसले अनावश्यक हिँडडुलमा कमी भएको दुवैतर्फका सुरक्षाकर्मीहरुको दाबी छ ।

तीन दिनदेखि पक्की पुल बन्द गरेर सर्वसाधारणले दुःख पाएपछि तीनैवटा जिल्लाको शान्तिसुरक्षा हेर्ने र कानुन कार्यान्वयन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जानकारी गराउँदा पनि त्यसमा कुनै सुनुवाइ नभएको पीडित स्थानीयले बताएका छन् ।

दुईवटा पक्की पुल फलामे बार लगाएर सवारी आवागमन बन्द गरिएपछि तिनै मनोहरावस्ती, लोकन्थली, इमाडोल, टीकाथलीका सवारी साधन भएका बासिन्दालाई भित्री छोटो बाटो हुँदै आवत जावतको लागि अरनिको राजमार्गको मुख्य सडकमै पुग्नुपर्छ या ललितपुरको ग्वार्को चोक हुँदै भित्र छिर्नुपर्छ ।

बालकुमारी चोकबाट इमाडोल हुँदै टीकाथली र मनोहरावस्तीमा जाने मुख्य बाटोमा पर्ने एउटा खोलामा पक्की पुल बनाउन लागेको हुनाले सो बाटोमा पैदलयात्री मात्रै हिँड्न सक्छन् भने सवारी साधन आवतजावत बन्द छ ।

कोरोना संक्रमणबाट जोगिन भनेर कुनै पनि स्थानीय टोलबासी, टोल सुधार समिति या स्थानीय निकायले त्यसरी सार्वजनिक पुलमा फलामको पाइप वेल्डिङ गरेर सवारी आवागमन बन्द गर्न उनीहरुलाई कुन कानुनले दियो ? सर्वसाधारणको चासो छ ।

उनीहरु भन्छन्– ‘यतिखेर जडिबुटी या पारि मनोहरा वस्तीमा आगलागी, आपराधिक घटना या कोही बिरामी प¥यो भने दमकल, प्रहरी र एम्बुलेन्स कसरी पुग्नसक्छ ?’