सडक विभागको बजेट सिलिङ १ खर्ब ३७ अर्ब बढी


सुरेश तामाङ, काठमाडौं

सडक विभागद्वारा आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ अर्ब बढी बजेट प्रस्ताव गरिएको छ । विभागले विभिन्न ६५ शीर्षकका लागि विकास बजेटको प्रस्ताव गरेको हो ।

चालू खर्चतर्फ २ अर्ब ८२ करोड ५८ लाख र पुँजीगततर्फ १ खर्ब ३४ खर्ब ३७ करोड रुपियाँ गरी १ खर्ब ३७ अर्ब १९ करोड ५८ लाख रुपियाँ बजेट प्रस्ताव गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कुल बजेटतर्फ पुँजीगत खर्चमा नेपाल सरकारको ६३ अर्ब ६३ करोड ८३ लाख वैदेशिक अनुदान १ अर्ब ८८ करोड रुपियाँ, वैदेशिक ऋण ६८ अर्ब ८५ करोड १७ लाख रहेको छ ।

विभागले प्रस्तावित बजेटमा सूर्यविनायक–धुलिखेल र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर सडकलाई समेत विशेष प्राथमिकतामा राखेको देखिन्छ । जहाँ अन्डरपास वा सुरुङ निर्माणको चर्चा चलिरहेको छ । यी सडकको संगमस्थल कोटेश्वरमा सवारी चापका कारण जाममा पर्नुपर्ने बाध्यता छ ।

विभागले यस समस्यालाई हल गर्न ५ अर्ब १० करोड रुपियाँ बजेटको प्रस्ताव गरेको छ । सरकारले यसमा ५ अर्ब रुपियाँ वैदेशिक ऋण ल्याउने लक्ष्यसमेत राखेर बजेटको प्रस्ताव गरेको छ ।

सुरुङमार्ग विकासलाई तीव्रता दिने सरकारको योजनालाई जोड दिँदै विभागले सुरुङमार्ग विकास कार्यक्रमका लागि ६२ करोड रुपियाँ बजेट प्रस्ताव गरेको छ । विभागले बहुचर्चित राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङमार्गलाई तीव्रता दिन ५ अर्ब ८२ करोड ५६ लाख रुपियाँ बजेट प्रस्ताव गरेको छ । जसमा ५ अर्ब ४० करोड ९ लाख रुपियाँ वैदेशिक ऋण हुने विभागले जनाएको छ ।

त्यस्तै प्रस्तावित बजेटमार्फत विभागले रणनीतिक सडकको पुुलहरूको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । यसका लागि ४५ करोड रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।

अध्ययनपछि विभागले उक्त सडकमा रहेको पुल निर्माण तथा पुलपुलेसा संरक्षणमा ४ अर्ब ५ करोडको बजेट प्रस्ताव गरेको छ ।
त्यस्तै विभागले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमलाई समेत विशेष प्राथमिकतामा राख्दै बजेटको प्रस्ताव गरेको छ । जसमा १ अर्ब २ करोड ८२ लाख रुपियाँ बजेट प्रस्ताव विभागले गरेको छ ।

विभागले काठमाडौं चक्रपथको बाँकी रहेको कामलाई समेत आगामी वर्ष गर्ने गरी बजेटको प्रस्ताव गरेको छ । जसमा ६८ करोड ५३ लाख रुपियाँको बजेट प्रस्ताव गरिएको छ भने यसमा ५० करोड रुपियाँ वैदेशिक ऋण ल्याउने सरकारले योजना रहेको छ ।

त्यस्तै अर्काे बहुचर्चित आयोजनाका रूपमा रहेको काठमाडौंको बाहिरी चक्रपथ आयोजनालाई भने विभागले आगामी वर्षका लागि ४ करोड विकास बजेटको प्रस्ताव गरेको छ ।