भारतीय क्वारेन्टाइनका नेपालीलाई स्वदेश ल्याउने सहमति


विनोदसिंह विष्ट, बैतडी

महाकालीपारि भारतीय क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउन सहमति भएको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट र दार्चुलासँग सीमा जोडिएको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउन स्थानीयस्तरमा सहमति भएको हो ।

भारतीय क्वारेन्टाइनमा १ हजार बढी नेपाली मजदुर रहेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले निर्णय गरेलगत्तै मजदुरलाई स्वदेश ल्याउने निर्णय भएको प्रजिअ पौडेलले बताउनुुभयो ।

यसका साथै बैतडीमा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ । सरकारको क्वारेन्टाइन कार्यविधि २०७६ बमोजिम सदरमुकामस्थित दशरथचन्द नगरपालिका र आवश्यकताअनुसार अन्य स्थानीय तहमा पनि क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो ।

सीमापारि रहेका नेपाली मजदुरलाई स्वदेश फर्काउनुअघि मापदण्डअनुसारका क्वारेन्टाइन निर्माण गर्ने र नेपाल सरकारले निर्णय गरेलगत्तै मजदुरलाई स्वदेश ल्याउने बताइएको छ । भारतबाट घर फर्किन सीमा नाकामा आइपुगेका नेपालीलाई स्वदेश ल्याएर सुरक्षित जिल्लास्तरीय क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँचका सबै प्रक्रिया पूरा गर्ने निर्णयसमेत भएको छ ।

प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टको समेत उपस्थिति रहेको बैठकले बजार क्षेत्रमा कीटनाशक औषधी छर्कने कार्यलाई निरन्तरता दिने निर्णय भएको छ ।
बैठकका जिल्लाका १० ओटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको समेत सहभागिता रहेको थियो । बैठकमा भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश फर्काउने बिषयमा घनीभूत छलफल भएको बैठकमा सहभागी स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले भारतबाट अवैधरुपमा अझै पनि नेपाल प्रवेश नरोकिएपछि सतर्कता अपनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित भेटिएपछि प्रदेशको पहाडी जिल्ला बैतडीमा पनि उच्च सतर्कता अपनाइएको हो ।

सीमा क्षेत्रमा चौबीसै घण्टा पहरा

महाकालीमा ट्युबमार्फत अवैधरुपमा नेपाल प्रवेश नरोकिएपछि भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । विभिन्न घाट भएर भारतबाट नेपाली फर्कने क्रम नरोकिएपछि बैतडीका ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

अवैध सीमा वारपार रोक्नका लागि ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रण प्रयास स्वरुप विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएका हुन् ।

शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वरकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा सशस्त्र प्रहरी खटिएका छन् । यस्तै दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरी खटिएको जनाइएको छ ।

तत्काललाई अस्थायी चेक पोइन्ट राखेर सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । सीमाबाट फर्कने नेपालीहरु ट्युबमार्फत फर्कन थालेपछि सरकारले सीमामा कडाइ गर्ने निर्णयअनुसार सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सीमा क्षेत्रमा कडाइ गर्न र अवैध सीमा वारपार रोक्नका लागि सशस्त्र प्रहरीले चौबीसै घण्टा पहरा दिइरहेको बताइएको छ ।