सनसिटीका कोरोना संक्रमितको सम्पर्कमा आएका कामपा-५ का ३९ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्‍यापिड टेस्ट गरेको जानकारी दिनुभयो ।

वडा नम्बर–५ का अध्यक्ष रमेश ढंगोलले पनि उहाँहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उहाँहरुको काम सम्पन्न गरेर पठाएको जानकारी दिनुभयो ।

‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो । हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भन्नुभयो, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्‍यापिड टेस्ट गर्यौँ । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिनुभएको छ । उहाँले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।