लकडाउन लम्बिदै, राहतको माग बढ्दै

0
Shares

सुनील महर्जन,काठमाडौं ।

लकडाउन लम्बिएसंगै राहत आवश्यक पर्ने घरपरिवारको संख्या दिनप्रतिदिन बढीरहेको छ । चैत्र १० गतेदेखि शुरु भएको लकडाउन अहिलेको लागि बैशाख १५ गतेसम्म कायम हुने छ।

स्थानीय तहले लकडाउनको तेस्रो सातातिर राहत वितरण गर्दा छुटेका र त्यतिबेला राहत जरुरी नठानेका परिवारहरुले पनि अहिले राहत चाहिएको भन्दै जनप्रतिनिधि र सामाजिक संघसंस्थाहरुलाई आफ्नो समस्या पोख्न थालेका छन् ।

‘राहत वितरण गर्दा छुटेका, राहत वितरणबारे जानकारी नभएका र आवश्यक नठानिएका परिवारले पनि अहिले राहत चाहिएको वडाहरुमा धाउन्ने गरेका छन् ।’काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो । मेयर शाक्यका अनुसार राहत चाहिने परिवारको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

बुधबारसम्ममा राहतको लागि ५३ हजार ९ सय २२ घरपरिवार पहिचान भइसकेको छ । त्यसमध्ये त्यसमध्ये ४४ हजार ५ सय १३ परिवारलाई राहत वितरण गरिसकेको छ । लकडाउनको अवधि लम्बिएसंगै निम्नमध्यम वर्गको परिवारले पनि राहत पाउनुपर्ने माग गरेको मेयर शाक्यले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार राहतको लागि लगत संकलन गर्न तोकिएको अवधि नाघिसकेपछि आएका परिवारलाई पनि राहत वितरण गरिरहेको मेयर शाक्यले बताउनुभयो।लकडाउन थपिएपछि राहतको माग गर्ने परिवारको संख्या बढीरहेको छ ।

‘महानगरपालिकाले आफ्नो निर्णय अनुरुप त्यसरी माग गरेका परिवारलाई पनि राहत वितरण गरिरहेका छौं ।’मेयर शाक्यले भन्नुभयो ।
ललितपुर महानगरपालिकाले चैत्र २२ र २३ गते भित्रमा तथ्याकं संकलन गरी राहत बा“डेको थियो । त्यस अवधिमा छुटेका व्यक्तिहरुले राहतको माग गरेर वडामा आउने क्रम बढीरहेको ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।‘ राहतको माग बढीरहेको छ ।

त्यसरी आएका परिवारलाई राहत वितरण गर्ने कि नगर्ने भनेर महानगरपालिकाले निर्णय गरेको छैन।हामी पनि अन्यौल मै छौं ।’वडाअध्यक्ष शाक्यले भन्नुभयो।यद्यपि लक्षित परिवारलाई राहत उपलब्ध गराईदिन सामाजिक संस्थासंग समन्वय गरिरहेको पनि वडाअध्यक्ष शाक्यले बताउनुभयो ।

कतिको दुःख देख्न नसकेर आफूसंग भएको केही पैसा दिएर पठाएको पनि उहाँको भनाई रहेको छ । ललितपुर महानगरपालिका – ११ मा राहत लिन छुटेको भन्दै समस्या पोख्न आउनेहरुको संख्या बढीरहेको वडा सदस्य कृष्ण महर्जनले बताउनुभयो।महानगरपालिकाले १९ हजार ४ सय ७३ परिवारलाई राहत प्रदान गरेको थियो ।

वडा नं ६ का हिटलर शाक्यले पनि राहत चाहिएको भनेर फोन आउने क्रम बढेको बताउनुभयो । राहतको माग गर्ने स्थानीयको संख्या बढेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो। ‘राहतको लक्षित वर्गमा नीतिगत रुपमा स्थानीय र कोठामा भाडा लिएर बस्ने परिवार भनेर छुट्याइएको छैन।सरकारले ज्यालादारी श्रमिक, विपन्न र असहाय परिवारलाई राहत दिनु भनेको थियो ।

यस प्रावधानलाई जनप्रतिनिधिहरुले कोठा भाडा लिएर बस्नेहरुलाई मात्र राहत दिने भनेर व्याख्या गरे । अध्यक्ष महर्जनले भन्नुभयो ‘ यसले गर्दा हस्तकला व्यवसायी,डकर्मी सिकर्मी, कालिगढ लगायत स्थानीयहरु राहत लिन पाएनन्।’‘राहत दिने क्रममा आवश्यकता अनुसार स्थानीय र बहालमा बस्ने सबैले पाउनुपर्ने भन्ने हो ।

अधिकाशं जनप्रतिनिधिहरुले व्यवहारमा यो कुरा लागू गरेको पाइएन ।’ राहत वितरणमा क्रियाशील ललितपुर उद्योग वाणिज्य संघ सामाजिक सेवा समितिका संयोजक भूमीनन्दन कर्माचार्यले भन्नुभयो । संघले समन्वय गरेर मंगलबार ललितपुरका ५२ परिवारलाई राहत वितरण गरेको संयोजक कर्माचार्यले जानकारी दिनुभयो ।

राहतको लक्षितको परिवारको लगत राख्न अर्थ मन्त्रालयले तयार पारेको नमूना फाराममा घरधनीको हस्ताक्षर आवश्यक भनिएको थियो ।यसको साटो धेरै वडाहरुले घरधनीलाई बहालमा बस्नेलाई राहत दिनु भनेर निवेदन दिन लगाएको थियो ।यस अवस्थामा कतिपय घरधनीहरुले बहाल नतिरेको भनि निवेदन दिन आनाकानी गरेको थियो ।

‘वास्तवमा त्यस्तो निवेदन आवश्यक थिएन।यसले गर्दा पनि कोठा भाडा लिनेहरुले पनि राहत पाएनन् ।यस्तो विपतको अवस्थामा घरबहाल कर तिरेको वा नतिरको, घरधनीको हस्ताक्षर पुग्ने ठाउँमा निवेदन लेखाउने काम स्थानीय तहले नगरेको भए राम्रो हुने थियो किरु’ ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भन्नुभयो ।

राहत वितरण गर्ने क्रममा जनप्रतिनिधिहरुले व्यावहारिकता अपनाउन नसक्दा राहत लिनबाट धेरै वञ्चित भएको पनि अध्यक्ष ताम्रकारको बुझाई रहेको छ । ‘ घर भएपनि स्रोत नहुनेहरु धेरै छन् । डेरामा बस्ने तर राम्ररी आयस्रोतहरु पनि कम छैनन् । मानवीय दृष्टिले काम गर्नुपर्ने बेला घरधनी कि डेरावाला भनेर वर्गीकरण गर्ने मानसिकताले गर्दा राहत वितरण प्रभावकारी भएन ।’ अध्यक्ष ताम्रकारले भन्नुभयोे । यस अवस्थामा समाजले आफ्नो सदस्य परिवारलाई राहत वितरण शुरु गरेको छ । उपत्यका दुई महानगरपालिकासंगै अन्य महानगरपालिकामा पनि राहतको माग बढीरहेको बुझिएको छ ।