नदीले बगाउँदा महिलाको ज्यान गयो

0
Shares

मिला दरै,तनहुँ ।

शुक्लागण्डकी नगरपालिका स्थित सेती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । भिमाद नगरपालिका–५ ऋषिङपाटनकी ४४ वर्षीया पञ्चमाया गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मंगलबार घाँस काट्न जङ्गल जाने क्रममा सेती नदी तर्दा उहाँहरुलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँहरुलाई उद्धार गरी जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा पञ्चमायाको मृत्यु भएको चिकित्सकले मृत घोषणा गरेको डिएसपी लामिछानेले बताउनुभयो ।

घाइते हुनुभएका ५५ वर्षीय खड्कसिंह गुरुङको भने गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चट्याङले लागेर ५ जना घाइते

व्यास नगरपालिका–६ गेडेखोलामा चट्याङ पर्दा ५ जना घाइते हुनुभएको छ । रुकुम बहादुर श्रेष्ठको घरमा सोमबार राती चट्याङ पर्दा परिवारका ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चट्याङले लागेर घाइते हुनुभएका सबैको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार एक जनाले मुटु दुखेको भन्नुभएको छ भने अन्यको स्वास्थ्य सामान्य रहेको छ ।