नेपाल-कोरिया अस्पताल ठिमीमा समुदायमा आधारित कोरोना संक्रमणको परीक्षण र निगरानी सुरु

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएकाहरुमा कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको छ । नगरपलिकाको विभन्न वडामा विदेशबाट फर्किएका ५३ जनाको नमूना संकलन गरि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना( कोभिड—१९)को परीक्षण गरिएको हो ।

अस्पतालका निर्देशक प्रा.डा ज्ञानकृष्ण श्रेष्ठका अनुसार उनीहरु सबैको नमुनाको रिर्पोट नेगेटीभ आएको छ । आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक प्रा.डा श्रेष्ठले समुदायमा आधारित भएर परीक्षण र निगरानी गर्ने क्रममा ५३ जनाको नमूना संकलन गरिएको बताउनुभयो ।

उनीहरुको परीक्षण विश्व स्वास्थ्य संगठनको प्रस्तावित कोरोना भाइरस आरटी पी सी आर विधिद्धारा गरिएको अस्पतालले जानकारी दिएको छ ।यसका लागि बायोसेफ्टी लेभल टू को मलिकुलर प्रयोशाला मैत्री अस्पतालमा सञ्चालन भएको छ । नगरका ९ वडाको सहकार्यमा अहिलेसम्म विभिन्न १५ देशबाट फर्किएका ५३ जनाको पहिचान गरी उनीहरुको स्वास्थ्य अवस्था तथा यात्रा गरेको रुटबारेको जानकारी संकलन भएको बताइएको छ ।

नेपाल कोरिया मैत्री अस्पतालमा अहिले कोरोना भाइरसका सम्भावित संक्रमितका लागि १६ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको र २० बेड क्षमताको क्वारेन्टाइन वार्ड पनि तयार पारिएको जानकारी दिइएको छ ।कोरोना संक्रमणको शंका लागेमा बिरामी ल्याएर नेपाल कोरिया फ्रेण्डसीप नगरपालिका अस्पतालको आइसोलेशन तथा उनीहरुको सम्पर्कमा रेहकालाई क्वारेन्टाइन वार्डमा राखिने छ ।

आइसोलेशनमा बस्नेहरु अन्यत्र भागेको सुनिएकोले मध्यपुरमा भने त्यसको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई गर्न आग्रह गरिएको नगरप्रमखु मदन सुन्दर श्रेष्ठले बताउनुभयो । मध्यपुरमा नै रहेको सेनाको भैरव वाहान गणलाई आग्रह गरिएको र अस्पतालले सेनाका सुरक्षा दस्तालाई बस्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको नियन्त्रण गर्न नगरपालिकाले ३ करोड रुपैयाँको कोष निर्माण गरेको र नगरपालिकाद्धारा संचालित मैत्री अस्पताल सुविधा थप गर्न रु २ करोड छुट्याएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।