डोटीका ३३० जनाको स्वाव रिपोर्ट नेगेटिभ

0
Shares

डोटी ।

जिल्लाका नौ वटा स्थानीयतहका १२ वटा क्वारेन्टाइनमा रहेका ३३० जनामा गरिएको कोभिड–१९ को परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वारेन्टाइनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाव सङ्कलन गरेर लगेका मध्ये सबैको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले जानकारी दिनभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा सबेकाहरु सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको छ, रिपोर्ट नेगेटिभ भएपनि सबैले सावधानी चै अपनाउनु पर्ने देखिन्छ ।”

उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव सङकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडाँै पठाइएको थियो ।

स्वाव सङ्कलनपछि परीक्षण गर्दा सबै जनाको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रिजल्ट नेगेटिभ आएपछि जिल्लाका नौ वटै स्थानीयतहका क्वारेन्टाइनमा रहेका ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेकाको स्वाव परीक्षणपछि नतिजा नेगेटिभ आएको छ,घरैमा सुरक्षित बस्ने सर्त सहित उहाँलाइ विदाइ गरिएको छ ।” कैलालीको लम्की चुहा नगरपालिका एक की एक महिलामा कोभिड १९ सङक्रमण पुष्टि भएको छ । ६० वर्षीया निज महिलामा कोरोना सङक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी रहेको छ । वीरगञ्जबाट गएको चैत ९ गते घर आएकी उहाँ १२ देखि २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टाइनमा बस्नु भएको थियो । १७ दिन क्वरेण्टाइनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उहाँलाई घर पठाइएको थियो ।

तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी कैलालीकी ६० वर्षीया महिलामा कोरोना भाइरसको सङक्रमण भएको पुष्टि भएको हो । सुदूरपश्चिममा कोभिड–१९ को सङक्रमणका बिरामीको सङख्या ५ जना पुगेको छ ।

यसअधि कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुइजना, एकजना तेस्रो मुलुकबाट आएका र निज तेस्रो मुलकबाट आएका व्यक्तिबाट भाउजुमा कोरोना सरेका कारण चार जनामा कोभिड–१९ को सङक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएकाहरुको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सुधारोन्मुख रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणका बिरामी थपिदै जानथालेपछि सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको संकेत देखिदै आएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ, सबैले सावधानि अपनाउनु पर्ने बेला आएको छ ।”