सिन्धुलीका २१ जनाको -यापिड किट मार्फत कोरोना परीक्षण,सबैको रिर्पोट नेगेटिभ

0
Shares

बुद्ध नेपाली,सिन्धुली ।

कोरोना भाईसर(कोभिड –१९) भए नभएको पत्ता लगाउन सिन्धुलीमा २१ जनाको परिक्षण गरिएको छ । भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको ‍¥यापिड किट (‍¥यापिड डाइग्नोस्टिक टेस्ट) मार्फत कोरोना परीक्षण सुरु गरिएको हो ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीलाई तीन सय ‍¥यापिड किट पठाएपछि उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट मार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार परिक्षण गरिएको सबै २१ जनाको नै परिक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

‘भारत तथा विदेशबाट आएकाहरुको परिक्षण गर्न सुरु गरेकाछौं । दुधौली नगरपालिकामा र सिन्धुली अस्पतालमा अहिले सम्म परिक्षण भयो । शनिवार दुधौलीको सिर्थौली प्राथमकि स्वास्थ्य चौकीमा ६ जना,दुधौली हेल्थपोष्टमा ९ जना, हत्पते स्वास्थ्य चौकीमा ३ जना गरी १८ जनाको परिक्षण गरेका थियौं । उहाँहरु १८ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।

र सिन्धुली अस्पतालमा ३ जनाको आईतवार परिक्षण गरेका छौं । यी ३ जनाको पनि रिर्पोट नेगेटिभ आएको छ ।’ उहाँले भन्नुभयो । सिन्धुली अस्पतालमा आईतवार परिक्षण गरेका मध्ये दुई जना महिला कमलामाई नगरपालिका ४ देउरालीका र एक जना बारा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान रहेको प्रमुख शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सिन्धुलीका दुई स्थानिय महिला विरगन्जबाट र अर्का पुरुष बाराबाट आएकाले उनीहरुलाई परिक्षण गरिएको हो । उनीहरुको रिर्पोट नेगेटिभ छ । होम क्वारेन्टाईनमा बस्न आग्रह गरेका छौं ।’ विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुको ¥यापिड किटमार्फत परीक्षण गरिने भएको हो ।

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाण्डौको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेडिकल प्रमुख शाहले जानकारी दिनुभयो । सिन्धुलीका दुई नगरपालिका, सात गाउपालिका गरी नौ स्थानिय तहमा विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तवास बसेका, चिकित्सकको निर्देशन अनुसार १४ देखि २१ दिनसम्म क्वरेण्टीनमा बसेकाहरुको परिक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका नौ ओटै स्थानिय तहमा विदेशबाट आएका २ सय ४ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट मार्फत कोरोना परीक्षण गरिने प्रमुख शाहले बताउनुभयो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते गरेको लकडाउनपछि पनि भारत तथा तेस्रो मुलकबाट आएकाहरुको तथ्यांक संकलन भईरहेकाले उनीहरुको पनि परिक्षण गर्ने उहाँको भनाई छ ।

यस अघि सिन्धुली अस्पतालमा ६ जनाको आईसोलेसनमा भर्ना भएकोहरुको पनि स्वाव परिक्षण गर्दा कोरोना भाईरस संक्रमण रिर्पोट नेगेटिभ भएको थियो ।