आफ्ना नागरिकको ‘खोजी अभियान’ : अन्यत्र भएका नागरिकलाई त्यहीँ सहयोग

14
Shares

रोशन पराजुली,हेटौंडा ।

अन्यत्र रहेर लामो लकडाउनका कारण अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उनीहरु रहेकै स्थानमा सहयोग गर्ने गरी नगरपालिकाले तयारी गरेको छ ।यसका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आफ्ना नागरिकको ‘खोजी अभियान’ थालेको हो । नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाइन सर्भे फारम प्रकाशन गरी आफ्ना नागरिकको खोजी थालेको छ ।

अनलाइन फारममा नगर बाहिर बसेका नागरिकले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासँग आफ्नो अपेक्षा पेश गर्नसक्ने व्यबस्था गरिएको छ । ‘अन्यत्र रहेका नागरिकलाई उनीहरुको अपेक्षाका आधारमा राहत, सुरक्षा वा उद्धार के आवश्यक परेको हो, त्यो व्यबस्था गर्छौं’ नगर प्रमुख लवशेर बिष्टले भन्नुभयोे–अप्ठ्यारोमा परेका, खान समस्यामा परेका छन् भने सम्बन्धित स्थानीय तहलाई फोन गरेर चेकमार्फत् रकम पठाएर आफ्ना नागरिकलाई खाने व्यबस्थाका लागि अनुरोध गरिनेछ ।

उहाँका अनुसार करिब दुई सय नागरिक नगरबाहिर अप्ठ्यारो अबस्थामा छन् । सोमबार दिउँसोसम्म बीस जनाले अनलाइन फारम भरिसकेका छन् । काठमाडौं र इटहरीलगायत ठाउँमा अप्ठ्यारोमा रहेका नागरिकले फारम भरेका नगर प्रमुख बिष्टले बताउनुभयो । नगर प्रमुख बिष्ट उनीहरुको घरसम्म पुगेर अबस्था बुझ्ने कार्यमा लागिरहनुभएको छ ।

प्राप्त विवरणका आधारमा पहिलो चरणमा विवरण संकलन, दोस्रो चरणमा अबस्था विश्लेषण र तेस्रो चरणमा अपेक्षा पूरा गर्नेमा नगरपालिका केन्द्रित हुने नगर प्रमुख बिष्टले बताउनुभयो ।‘लकडाउन लम्बिरहेको अबस्थामा घर आउन चाहिरहेका छन् भने प्रदेश र संघीय सरकारसँग समन्वय गरी थाहानगर फर्काउने गरी काम गर्नेसम्मको योजना रहेको भन्दै उहाँले नगरका नागरिक भोकमरी र अलपत्र पर्न नदिइने बताउनुभयो ।

थाहानगर फर्काइएपछि नगरपालिकाले सञ्चालन गरेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्नसक्ने व्यबस्था रहेको भए घरमै पठाउने गरी व्यबस्था मिलाइने नगर प्रमुख बिष्टले बताउनुभयो ।थाहा नगरपालिकाले फारम भर्नका लागि तयार गर्ने अनलाइन सर्भे फारमको लिंक क्लिक गरेपछि एउटा फारम खुल्छ ।

फारम खुलेपछि त्यसमा मागिएको जानकारी भर्नुपर्दछ । रातो तारा लागेका प्रश्नको जवाफ अनिवार्य भर्नुपर्दछ । सबै प्रश्नको जवाफ भरिसकेपछि विवरण पठाउन लेखिएको ठाउँमा क्लिक गरेपछि भरिएको विवरण नगरपालिकासम्म पुग्छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकभर लामो लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइनमार्फत् संकलन थालिएको हो ।

http://thahamun.gov.np/