गौमुल गाउँपालिकामा बाघ आतंक, दुई दिनमा २८ भेडा सखाप


दयाराम पण्डित, बाजुरा

बाजुराको गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ । उक्त गाउँपालिकाको अन्द्रडी र पौदालीमा लगातार बाघ आतंक भइरहेको छ ।

यसअघि गाउँपालिकाको–१ अन्द्राडीमा बाघको आक्रमणबाट १९ भेडा मारेको १ दिन नबित्तै फेरि वडा नम्बर २ को पौदालीमा शनिबार बाघको आक्रमणबाट करिब ९ भेडा मरेका छन् । शनिबार मध्यराति १२ बजेतिर गाउँनजिकैको गोठ छानामा हुलेका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

बिहीबार बाघको आक्रमणबाट स्थानीय काँशी बोहराका ८ वटा, हिमाल रोकायाका ७ वटा, शिव रोकायाका २ वटा र माता रोकायाका २ वटा गरी १९ भेडा बाघले मारेको स्थानीय हंस रोकायाले जानकारी दिएका छन् ।

गोठ छानामा हुलेर राखेको भेडाहरुलाई राति बाघले आक्रमण गर्दा करिब २ लाख रुपियाँ बढीको नोक्सान भएको छ । स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय पछिल्लो समय संकटमा परेको छ । यता गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताएका छन् ।

बाघको आतंकबाट स्थानीयका भेडाहरु मारेर धेरै क्षति भएको बताउँदै अध्यक्ष रोकायाले बाघ नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । स्थानीयले लाखौंको क्षति बेहोर्नुपरेको बताउँदै तत्काल क्षतिअनुसार स्थानीयलाई राहत दिने बताएका छन् । परम्परागत भेडापालन व्यवसाय त्यसै त संकटमा परेको बेला बाघ आतंक बढेपछि स्थानीय चिन्तित भएका छन् ।