कोरोनाले चैतलो र भिटौलो प्रभावित


बैतडी, (नेस)

कोरोना भाइरसका कारण यो वर्ष सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा भिटौलो प्रभावित भएको छ । चैतको महिना माइती पक्षले बिहे भएकी छोरीबहिनीहरुलाई उनीहरुकै घरमा कोसेली लगेर भेटघाट गर्ने चलन भए पनि यो वर्ष कोरोनाले प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।

चैतको महिना दाजुभाइले दिदीबहिनीहरुलाई विभिन्न कोसेलीसहित भेट्ने चलन रहेको भए पनि यो वर्ष भिटौलो नभएको दशरथचन्द नगरपालिका १ का देवदत्त भट्टले बताउनुभयो ।

मिठामिठा परिकार पकाएर माइतीको कोसेलीसहित माइतीहरु छोरीबहिनीको घरमा पुग्ने भए पनि लकडाउनका कारण भिटौलो नभएको दशरथचन्द नगरपालिका २ पार्वती बोहराले बताउनुभयो । कोरोनाको जोखिम हुन सक्ने भन्दै सरकारले लकडाउन गरेका कारण यो वर्ष भिटौलो प्रभावित भएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिमका बैतडी, दार्चुलासहित अन्य जिल्लाहरुमा चैतको महिना छोरी बहिनीहरुलाई भेट्ने चलन रही आएको छ । वसन्त ऋतुको आगमन भएसंगै माइती परिवारले आफ्नी छोरी बहिनीहरुलाई कोसेलीसहित माइती माया दर्शाउने चलन रहे पनि कोरोनाका कारण यो वर्ष भिटौलो प्रभावित भएको दार्चुलाका स्थानीय विनोद धामीले बताउनुभयो ।

यस्तै कोरोना कारण घरघरमा गएर गाइने चैतलोसमेत कोरोनाले प्रभावित भएको छ । विभिन्न ऐतिहासिक गाथा समेटिएको चैतलो दमाइ जातीले घरघरमा गएर गाउने चलन रही आएको भए पनि कोरोनाका कारण यो वर्ष चैतलोसमेत हुन सकेको छैन ।