कोइला बोकेर आएका ८ ट्रक नियन्त्रणमा


पुष्कर बुढाथोकी, भक्तपुर।

भक्तपुर प्रहरीले कोइला ल्याएको ८ वटा ट्रक नियन्त्रणमा लिएको छ ।लकडाउनको समयमा तराईका जिल्लाबाट भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित सुडाल र ताथली स्थित ईट्टा भट्टामा कोइला बोकेको ट्रक रातारात आएपछि स्थानीय त्रसित भएका थिए ।

शनिवार विहानै कोइला बोकेको ट्रकहरु देखेपछि स्थानीयवासीले विरोध जनाएका थिए । स्थानीयको दवाबपछि प्रहरीले उक्त ट्रकहरु नियन्त्रणमा लिएको जानकारी स्थानीयले दिएका छन् ।

भक्तपुर प्रहरी प्रमुख सबिन प्रधानले कोइला बोकेको केही ट्रकहरु भने भक्तपुर प्रबेशको नाकामै रोकेको जानकारी दिनुभयो ।यसरी कोइला लिएर भक्तपुर प्रबेश गरेको ट्रकका चालक र सहचालकलाइ नियन्त्रण लिएर सोधपुछ जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । भक्तपुरका ईटा व्यवसायीहरुले भने खाद्यान्न र आल्मुनियम सलफेट बोक्ने पत्र टासेर ईटा उद्योगका लागि दर्जनौ ट्रकमा कोइला आयात गरेका छन् ।

चाँगनारायण नगरापालिकाका प्रमुख सोम मिश्रले माथिल्लो तहदेखिको सेटिङ्गमा वीरजंगबाट कोइला बोकेका ट्रक चाँगुनारायण नपामा प्रबेश गर्नु लकडाउनको उल्लंघन भएको बताउनु भयो ।

अत्यावश्यक बस्तु ढुवानीमा मात्र सरकारले दिएको अनुमतिको उल्लंघन गर्दै झुक्काएर दर्जनौ ट्रकमा कोइला भित्रयाउनुले स्थानीयममा त्रास बढेको उहाँले बताउनु भयो ।

यसरी लकडाउनको समयमा भक्तपुर भित्रिएका ट्रकका चालक र सहचालकहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनु पर्ने भन्दै यसको सम्पूर्ण लागत भट्टा ब्यवसायीले व्यहोर्नु पर्ने नगर प्रमुख मिश्रले बताउनु भयो ।