तनहुँ ।
अठार दिनयताको लकडाउनका कारण तनहुँकाे भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् । दिनभरि कमाएर बिहानबेलुकाको छाक टार्ने यहाँका अधिकांश गन्धर्व परिवारमा धेरै दिनका लागि खाद्य सामग्री राख्ने क्षमता हुँदैन ।
स्थानीयवासी सीता गन्धर्वले आफ्ना घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भनी आशंका गर्नुभयो । सारङ्गी रेटी गीत गाउँदै गाउँ, शहर र यात्रुबसमा डुलेर कमाएर खाने परिवार भएकाले खाद्यवस्तु जुटाउन समस्या परेको उहाँले बताउनुभयो । स्थानीयवासी शर्मिला गान्धारीले गन्धर्व बस्तीका सबै सुकुम्बासी रहेको बताउँदै भन्नुभयो- ‘ठाउँठाउँमा राहत बाँडेको खबर सुनिएको छ तर गन्धर्व बस्तीमा अझै आइपुगेको छैन ।’
दश वर्षका उमेरदेखि गीत गाएर परिवार पाल्दै आएका ५२ वर्षीय बुद्ध गन्धर्वका अनुसार उहाँको समुदायमा एकजना पनि सरकारी सेवामा रहेको व्यक्ति छैन । उहाँले केही व्यक्ति रेष्टुरेण्टमा गीत गाउने र सारङ्गी बजाउने पेशा गर्ने गरेको तर लकडाउनका कारण हाल उनीहरूको पनि रोजीरोटी र कमाइको बाटो रोकिएको बताउनुभयो ।
‘सबैको जीवनयापन गर्ने साधन भनेको यही सारङ्गी नै हो’ -उहाँले भन्नुभयो, ‘केही परिवारले विभिन्न ठाउँमा गएर सारङ्गी बिक्री गरी त्यसैको आर्जनबाट जीवन गुजार्दै आएका छन् ।’ गन्धर्व समुदायकै भवानी गन्धर्व प्रश्न गर्नुुहुन्छ- ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्नेे ?’ भानु नगरपालिकाका उपप्रमुख आशा थापाले राहतका लागि खाद्य सामग्री खरीद गर्ने प्रक्रियामा रहेकाले चाँडै राहत वितरण गरिने बताउनुभयो ।
थापाका अनुसार नगरपालिकाभर एक हजार ८२१ जनालाई राहत दिनुपर्ने सूची तयार भएको छ । ती सबैलाई राहत वितरण गर्ने तयारी भइरहेको छ । वडा नम्बर २, ३ र १० मा पनि गन्धर्व बस्तीका गरीब परिवारजनलाई राहत बाँड्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ । स्थानीय गन्धर्व समुदायका सदस्य विगत भूकम्पका बेला घरैपिच्छे राहत बाँडिएको सम्झिरहेका छन् र यसपटक पनि त्यस्तै अपेक्षा गरिरहेका छन् ।











प्रतिक्रिया