कोभिड–१९: भारतबाट आएका सबै नागरिक छैनन् क्वारेन्टीनमा


विमल विष्ट, डोटी ।

नेपालमा लकडाउन हुनु भन्दा पहिले गाउँघरमा आएका सबै नागरिक क्वारेन्टीन नबसेका कारण पछिल्लो समय यहाँका गाउँघरमा रहेका नागरिकमा कोरोनाको त्रास फैलिन थालेको छ । बैशाख १ गते मनाइ बिसुपर्वका लागि भारतमा काम गर्ने सयौँ सुदूरपश्चिमेली लकडाउन हुनु भन्दा केही दिन पहिले गाउँघरमा भित्रिएका थिए ।

लकडाउन हुनु भन्दा पहिले यहाँका गाउँघरमा कति जना भित्रिए त्यस्को लेखा जोखा कसै स्थानीयतह संग अहिले सम्म छैन् । नेपालमा यहि चैत्र ११ गतेदेखि लकडाउन सुरु भएपनि यहाँका गाउँघरमा चैत्र महिनाको सुरुदेखि स्थानीय घर आउन थालेका थिए ।

भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ पुगेका थिए । गाउँ पुगेका उनीहरुलाई यहाँका नौ वटै स्थानीयतहले स्थापना गरेका १२ वटा क्वारेन्टीनमा राखीएको छ । क्वारेन्टीनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँलेहरु भने त्रसित भएका छन् ।

यहाँका गाउँमा कोरोनाको त्रास फैलिए पनि यहाँका दिपायल, राजपुर, पिपल्ला, सिलगढी लगायतका बजारहरुमा भने मान्छेको चहल पहल तथा आवत जावत बन्द भएसंगै सुनसान भएको छ । गाउँ भन्दा शहरमा स्थानीय प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँ भन्दा बजार सुनसान भएको हो ।

यहाँका गाउँघरमा मानिसको बढी चहल पहल र आवत जावत बढ्न थालेका कारण गाउँबाट कोरोना लगायतका रोगको सङ्क्रमण फैलिन सक्ने सक्ने भन्दै स्थानीयमा त्रास फैलिन थालेको कतिपएको बुझाइ छ ।

स्थानीयतहका क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोनाको कुनै किसिमको लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनु भन्दा पहिले आएका जिल्लाका कतिपय स्थानीयहरु गाउँघरमा खुला रुपमा हिडडुल गरिरहेका कारण स्थानीयमा त्रास फैलिएको हो ।

भारतबाट आएका तर क्वारेन्टीनमा नबसेर गाउँमै लुकेर बसेकाहरुलाइ यहाँको स्थानीय प्रशासनले क्वारेन्टीनमा बस्न पटक पटक आग्रह गर्दै पत्राचार गरीरहेपनि उनीहरुले त्यस्को वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खडक बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ लकडाउनु हुनु भन्दा पहिले आएका कतिपय स्थानीय गाउँ घरमै खुला रुपिमा हिडि रहेका छन्, उनीहरुमा कोरोनाको संक्रमण भएको खण्डमा जिल्लामा समस्या देखिन सक्छ, क्वारेन्टीन बस भन्दा मान्दैनन् ।”

सरकारले कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन तथा रोकथामका लागि लकडाउन सुरु गरी सिमा क्षेत्रमा आवत जावतमा रोक लगाएपनि सुदूरपश्चिममा रहेका अधिकांस खुल्ला सिमा नाकाबाट नेपालीहरु लुकी छिपी आउने र सिधै गाउँमा लुक्ने गरेको बडीकेदार गाउँपालिका १ बिपिनगरका स्थानीय गगन सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रमुख नाका बन्द भएर के गर्नु खुला सिमा भएकाले चोरी नाकाहरु धेरै छैन,अधिकांस त्यहि बाटो प्रयोग गर्दै गाउँ पस्न थालेका छन्, प्रमुख भन्दा पनि चोरी नाका बन्द गर्नु पर्छ ।” सुदूरपश्चिम प्रदेशका बिभिन्न पहाडी जिल्लाबाट बर्षेनि कामकालागि भारतका विभिन्न स्थान जाने स्थानीयहरुको सङ्ख्या बढी छ । खेतीबालीको काम सकेर, चाडपर्व मानेर यहाँबाट हजारौँको सङ्ख्यामा युवा,बृद्धहरु भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् ।

भारतमा कोरोना भाइरसले महामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरु फर्कने क्रम एका एक शुरु भएको हो । छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकाहरुलाई कोरोना सङ्क्रमणको आशङ्का गर्ने गरिएको छ ।

होटल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले लकडाउनका कारण छिमेकी मुलुक भारतसँगका प्रमुख नाकाहरु बन्द भएपनि लुकी छिपी नेपाल प्रवेशगरी गाउँ फकिर्नेहरुको सङ्ख्या बढीरहेको बताउनुभयो ।

“स्थानीयहरु लुकिछिपी गाउँ पस्न थालेका छन्, गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टाइन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था गरिनुपर्छ ।” सरकारले जो जहाँ भएपनि सुरक्षित हिसाबले बस्न, आउजाउ नगर्न आग्रह गरेपनि बिसुपर्वका लागि भन्दै यहाँका स्थानीयहरु पछिल्लो समय लुकिछिपी गाउँ पस्न थालेका छन् ।

त्यस्तै भारतबाट फर्किकाहरुका लागि जिल्लामा निर्माण गरिएका कतिपए क्वारेन्टीनहरु व्यवस्थित नभएका कारण पनि त्यहाँ बसेकाहरुलाइ समस्या हुँदै आएको स्थानीयबासी तथा सञ्चारकर्मी रामहरी ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतबाट आएका हरुलका लागि निर्माण भएका कतिपए क्वारेन्टीनमा एउटै कोठामा ८/९ जना कोचिएर बस्नु पर्ने अवस्था छ, कसैमा कोरोनाको सङ्क्रमण देखिए सबैलाइ सर्छ, स्थानीय सरकारले त्यस तर्फ ध्यान दिन जरुरी छ ।”

भारतबाट रोजगारी गरी स्वदेश फर्किएका ३११ जनालाइ यहाँका स्थानीयतहले आ–आफ्नो स्थानीयतहमा निर्माण गरीएका क्वारेन्टीनमा राखीएको छ । क्वारेन्टीनमा राखिएकाहरुमा भने अहिले सम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएको र उनीहरुको सव सङ्कलन गरी परिक्षणकालागि काठमाण्डौँ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो ।