क्वारेन्टाइन होस् त यस्तो…

0
Shares

रोशन पराजुली,हेटौंडा ।

पश्चिम मकवानपुरको मनहरी गाउँमा बनाइएको कोरोना क्वारेन्टाइनको बनौट धेरैले तारिफ गरेका छन् । यहाँ चर्चा गर्न खोजिएको विषय यो हो कि एक आश्रमको परिसरमा निर्माण गरिएको उक्त क्वारेन्टाइन सम्भवतः मकवानपुरकै नमूना क्वारेन्टाइनको हो ।क्वारेन्टाइन पुग्दा जोकोही भन्छन्–यत्तिको राम्रो व्यबस्थापन हामीले अन्यत्र देखेका छैनौं ।

शनिबार विहान क्वारेन्टाइन अनुगमनमा पुग्नुभएका प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले भन्नुभयो–स्थानीय तहका तर्फबाट भएको यो प्रयास सह्रानीय हो । अन्य स्थानीय सरकारले पनि क्वारेन्टाइन निर्माण र सञ्चालनमा मनहरी गाउँपालिकाबाट सिक्नुपर्छ ।पूर्वपश्चिम राजमार्गको हेटौंडा–नारायणगढ खण्डमा पर्ने रजैया बजारबाट दक्षिणतर्फ करिब ५ मिनेट हिँडेपछि पुगिन्छ क्वारेन्टाइनस्थल अग्निहोत्राश्रम ।

आश्रमवरिपरि बगैचा, मन्दिर र दुई ठूला सभाहल छन् ।मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारीका अनुसार १० वटा व्यबस्थित बेड हेटौंडाबाट खरिद गरी ल्याइएको हो । गाउँपालिकाले आगामी दिनमा ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन चाहेकाले पछि पनि काम लाग्ने गरी बेड खरिद गरिएको हो ।

बेडमा झुल, सिरानी, पर्सनल हाइजेनिक किटजस्ता आबश्यक सुबिधा छन् । क्वारेन्टाइनमा पस्न स्यानिटाइजर अनिवार्य छ ।स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार १० वटा बेडको क्वारेन्टाइन निर्माणका लागि प्रतिबेड बढीमा १५ हजार रुपियाँ खर्च भएको छ । सञ्चालन खर्च क्वारेन्टाइनमा बस्ने मान्छेका आधारमा घटीबढी हुने उहाँले बताउनुभयो ।

‘यत्रो महामारीका बेला व्यबस्थित क्वारेन्टाइन थोरै खर्चमै बन्न सक्ने उदाहारण प्रस्तुत गरेका छौं’, स्वास्थ्य ंसंयोजक अधिकारीले भन्नुभयो ।शंकास्पद् बिरामी आए एक स्वास्थ्यकर्मी र एक सहयोगीलाई स्ट्याण्डबाई राखिएको छ । अधिकारीले भन्नुभयो–क्वारेन्टाइनमा शंकास्पद् बिरामी आउनासाथ तीन सिफ्ट गरी स्वास्थ्यकर्मीको ड्युटी लगाइने छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिका लागि विहानको नास्ता, खाना, दिउँसोको खाजा र साँझको खाना गरी दैनिक चार पटक खानपानको व्यबस्थाको तयारी छ । उनीहरुका लागि छुट्टै शौचालय तथा पानीको व्यबस्थापन गरिएको छ ।शान्त ठाउँमा रहेको क्वारेन्टाइनमा रहने व्यक्तिको स्वास्थ्य सेवा र औषधी उपचार निःशुल्क हुनेछ ।

क्वारेन्टाइननजिक बनेको अर्काे दुई वार्डमा स्वास्थ्यकर्मीका लागि आवासीय व्यबस्थापन गरिएको छ ।मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–क्वारेन्टाइनमा जोकोही राख्न सकेसम्म सुविधाजनक व्यबस्थापनमा गाउँपालिको कुनै कसर बाँकी राखेको छैन । स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिएर कोरोना संक्रमणविरुद्ध लड्न स्थानीय सरकारले अनेक व्यबस्थापनमा ध्यान दिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।