कोरोना परिक्षणका लागि दार्चुलाबाट ४ सय ६१ जनाको स्वाब काठमाडौँ पठाईयो

0
Shares

किरन धामी,दार्चुला।

दार्चुलाका ४ सय ६१ जनाको स्वाब कोरोना परिक्षणका लागी शनिबार काठमाडौँ पठाईएको छ । भारत तथा अन्य मुलुकबाट दार्चुला आएका उनिहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संकलन गरि परिक्षणका लागी काठमाण्डौँ लगिएका स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

नौ वटै स्थानिय तहका ५ सय १० जनाको स्वाब परिक्षणका लागी संकलन गर्ने लक्ष्य राखेको भएपनि सेल्फ क्वारेन्टाइनमा बसेका ५० जना संकलन केन्द्र नआएपछि ४ सय ६१ जनाको मात्रै स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

शनिबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौँबाट आएका स्वास्थ्यकर्मीहरुले कोरोना परिक्षणका लागी उनिहरुको स्वाब संकलन गरेका हुन् । जिल्लाका नौ वटै स्थानिय तहहरुमा पुगेर स्वास्थ्यकर्मीहरुले भारत लगायत अन्य मुलुकबाट आएकाहरुमा कोरोना संक्रमण भए नभएको परिक्षण गर्न स्वाब संकलन गरेको उहाको भनाई छ ।

स्थानिय तहले स्थापना गरेका क्वारेन्टाइनहरुमा स्वास्थ्यकर्मीहरुको टोली पुगी त्याहा बसेका तथा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुलाई बोलाई स्वाब संकलन गरेको तथा परिक्षणका लागी काठमाण्डौँ पठाइएको उहाले बताउनुभयो ।

दुईवटा हेलिकप्टर मार्फत दार्चुला पुगेका स्वास्थ्यकर्मीहरुको एक टोलीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा लेकम, मालिकार्जुन र शैल्यशिखर नगरपालिकाका र महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाब संकलन गरेको थियो, भने अर्को टोलीले मार्मा, नौगाड, अपिहिमाल, दुहुँ र ब्याँस गाउँपालिकाको क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाब संकलन गरेको थियो ।

जिल्लाका विभिन्न ६ स्थानमा गरी ४ सय ६१ जनाको स्वाब संकलन गरी परिक्षणका लागी काठमाण्डौँ पठाइएको छ । सुदुरपश्चिम प्रदेशमा मात्रै एकै पटक तीन जनामा कोरोना भाइरसको संक्रमण देखिए पछि सरकारले सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर परिक्षण गर्न चेकजाँच कार्य गरिरहेको हो ।

स्वास्थ्यकर्मीहरुको टोलीले मार्मा गाउँपालिकाको लटिनाथ, नौगाडको दल्लेक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, दुहुँ गाउँपालिकाको हिकिला, ब्याँस गाउँपालिकाको हुती र महाकाली नगरपालिकाको खलंगामा कोरोना परिक्षणका लागी भारत तथा अन्य मुलुकबाट आएकाहरुको स्वाब संकलन गरेको थियो ।

जिल्लाको मार्मा र अपिहिमाल गाउँपालिकाका गरि १ सय ४० जना मध्ये १ सय ३९, नौगाड गाउँपालिकाका ४५, दुहुँ गाउँपालिकाका ४१ मध्ये ३८ जना, ब्याँस गाउँपालिकाका ३९ जना, शैल्यशिखर नगरपालिकाका ६३, मालिकार्जुन गाउँपालिकाका १६, लेकम गाउँपालिकाका ४ र महाकाली नगरपालिकाका १ सय ४० मध्ये १ सय ११ जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।