लकडाउनको १९ औ दिन काभ्रे अपडेट : विस्केट जात्रा स्थगित,घरघरमा सेनिटाईजर र साबुन वितरण

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेले कोरोना भाईरस विरुद्ध लड्न नगरपालिकाको विपद ब्यवस्थापन कोषमा सहयोग उपलब्ध गराएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठलाई संघका अध्यक्ष रधु कपाली लगायतको टिमले नगद हस्तान्तरण गरेको थियो ।

 

लकडाउनका कारण श्रमिक वर्ग हातमुख जोड्न कठिन भएको अवस्थामा मजदुरहरुलाई सहयोग पुगोस् भन्ने उदेश्यले सिलाई ब्यवसायी संघको तर्फबाट २० हजार १० रुपैया नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठलाई उपलब्ध गराईएको अध्यक्ष कपालीले बताउनु भयो । कार्यक्रममा महासंघका केन्दिय महानय सदस्य सानुकाजी थापा, जिल्ला सचिव तेज नेपाली लगायतले संघको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

रोकियो विस्केट जात्रा

सदियौ देखी चल्दै आएको धुलिखेल नगरपालिका वडा नम्वर ५, ६ र ७ मा हुने हुने विस्केट जात्रा रोकिएको छ । कोराना भाईरसको संक्रमणको आशंकामा जात्रा नगर्न र जात्रा गर्न नसकिएकोमा क्षमा पूजा गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

वडा अध्यक्ष संजय कोँजु, रोमिप्रसाद ब्याञ्जुले वडा नम्वर ६ र ७ मा हुने जात्रामा घर बाहिर ननिस्कन अनुरोध गरेका छन् । श्रीखण्डपुरमा लिङ्गो ठड्याएर गरिने जात्रा रोक्न प्रशासन र नगरपालिकाले अनुरोध गरेको छ । जात्रा ब्यवस्थापन समितिले क्षमा पुजा मार्फत जात्रा सम्पन्न गर्ने तयारी गरेको छ ।

नेविसंघले खाना खुवायो

नेपाल विद्यार्थी संघले अरनिको र विपी राजमार्गमा पैदल हिडिरहेका पैदलयात्री र सडकमा बसिरहेका नागरिकहरुका लागि खाना उपलब्ध गराएको छ । खाना खान सम्भव नभएका श्रमिकहरुका लागि पनि नेविसंघले खाना उपलब्ध गराएको अध्यक्ष नृपेश बादेले जानकारी दिनु भयो ।

लकडाउन लम्बिदै गए पछि राजधानीमा रहेका मजदुरहरु विपी र अरनिको राजमार्ग हुँदै ५/७ दिनको बाटो हिडेर गन्तब्यमा पुग्ने पैदलयात्रीहरुलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । पानस पार्टी प्यालेस, नेपाल यातायात स्वतन्त्र मजदुर संगगठन धुलिखेल रुट इकाई लगायतले पैदलयात्रीहरुलाई बनेपा, धुलिखेल र आसपासका क्षेत्रमा खाना उपलब्ध गराउँदै आएको छ ।

बनेपाको चाँदनीचोकबाट चैत्र २७ गते देखि नेविसंघले निशुल्क खाना खुवाउन शुरु गरेको अध्यक्ष नृपेश बादेले जानकारी दिनु भयो । झण्डै ५ सय भन्दा धेरै ब्यत्तिहरुलाई निशुल्क खाना उपलब्ध गराईएको छ ।

एक हजार ब्यक्तिहरुका लागि नेविसंघले खानाको तयारी गरेको अध्यक्ष बादेले जानकारी दिनुभयो । लकडाउनको १९ औ दिन पनि पैदल हिड्नेहरुको संख्यामा कमी भएको छैन ।

योग शिक्षकहरुद्वारा होमादी

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको प्रयासमा एैक्बद्धता जनाउन, बाताबरणीय स्वच्छता, सुख, शान्ति र सम्बृद्धीको कामनाका लागि नयाँ वर्ष २०७७ बैशाख १ गते दिन बिहान ६ बजे जिल्ला भरीका योगशिक्षकहरुले एकै पटक आ–आफ्नो निवासमा परिवार सहित जौ, तिल र गाईको ध्यूको साथमा देबज्ञ गरी नव बर्ष मनाउन लागेका छन् ।

पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेले योग शिक्षक सहित साधारणहरुका लागि पनि आ–आफ्नो निवासमा परिवार सहित आफ्नो क्षमता अनुसार होमादीम ऐक्यबद्धता जनाउन १०८ पटक गायत्री मन्त्र जपका साथमा यज्ञ गर्न अनुरोध गर्नु भएको छ ।

घर घरमा सेनिटाईजर र साबुन

कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा जुटिरहेका स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा राहत तथा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको नेतृत्वमा वडाका सम्पुर्ण घरघुरीलाई सेनेटाईजर १ थान, साबुन २ थान मास्क उपलध गराईएको छ भने वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठको सक्रियतामा वडा नम्वर २, वडा नम्वर ३, वडा नम्वर ४ का स्वास्थ्य चौकी तथा सद्भाव अस्पताल नालाका लागि ८ थान पिपिई उपलब्ध गराईएको छ ।

त्यसैगरी बनेपा नगरपालिका वडा नम्वर १२ महेन्द्रज्योती बाँसडोलका १ सय ५० अति विपन्न परिवारलाई वडा कार्यालयले राहत वितरण गरेको छ । वडा अध्यक्ष रामबहादुर कुँवरले वडा भित्र रहेका अति विपन्न, दलित वर्ग, श्रमिकहरुका लागि खाद्यान्न वितरण गरिएको बताउनु भयो । यस अघि बनेपाका विभिन्न वडाहरुमा राहत वितरण गरिएको छ ।

सामुदायिक कुकुरलाई खाना र पानी

लकडाउनका कारण पसलहरु बन्द भए पछि सामुदायिक कुकुरलाई खाना र पानीको संकट भए पछि केहि स्वयंसेवीहरुले सडकमा कुकुरलाई खाना र पानी उपलब्ध गराउन थालेका छन् । बनेपामा सर्वश्री अधिकारीले शुरु गरेको अभियान पनौती नगरपालिकामा पशुपक्षी शाखाका प्रमुख मणीप्रसाद सापकोटाले नगर भित्र संचालन गर्नु भयो ।

धुलिखेलमा आकाश भैरव युवा क्लवका अध्यक्ष सुबल चोच्छेको नेतृत्वमा युवाहरुले शहरका विभिन्न स्थानमा खाना र पानीको ब्यवस्था गरेका छन् । युवाहरुको सक्रियतामा धुलिखेलका सबै सामुदायिक कुकुरहरुलाई खाना र पानी उपलब्ध गराईएको वडा सदस्य आनन्द सागर श्रेष्ठले बताउनु भयो ।

लकडाउनमा मोटरसाईकल चोर्ने पक्राउ

चैत्र २७ गते राती रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको बा ६५ प ८१२४ नम्वरको २२० सिसीको पल्सर मोटरसाईकल चोरी भाग्ने युवाहरुलाई मंगलटार प्रहरी चौकीले पक्राउ गरेको छ ।

२८ गते राती २ बजेको समयमा रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्थित बि.पि.राजमार्गमा सिन्धुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको उक्त मोटरसाईकल सहित मोटरसाईकलमा सवार तीन जना ब्यक्तिलाई प्रहरीले आशंका लागि सोधपुक्ष गर्दा आवश्यक कागजात देखाउन नसकेपछि मोटरसाईकल चोरी गरी भागेको खुलासा भएको थियो चैत्र २७ गते राति रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ चलाई लिई आएको प्रारमिभ बयान दिएका छन् ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्वर ३ बस्ने १८ बर्षिय बुद्ध तामाङ, १५ बर्षिय लालबहादुर तामाङ र १५ बर्षिय सन्तबहादुर तामाङ रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान सहित कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी प्रवक्ता एवं सुचना अधिकारी डिएस्पी कुमार विक्रम थापाले जानकारी दिनु भयो ।