झापामा कोरोना राहत तथा विपद् व्यवस्थापन कोषमा पाँच करोडभन्दा बढी रकम जम्मा

0
Shares

उत्तम नेपाल,भद्रपुर ।

झापाका १५ वटा स्थानीय तहमा स्थापना गरिएका कोरोना राहत तथा विपद् व्यवस्थापन कोषमा पाँच करोड २२ लाख २४ हजार ८ सय १७ रुपैयाँ जम्मा भएको छ । स्थानीय तहको तर्फबाट चार करोड ९३ हजार रुपैयाँ र बाँकी जिल्लाका विभिन्न सङ्घसंस्था तथा दाताहरूले स्वेच्छिक रूपमा कोषमा जम्मा गरेपछि यो रकम पुगेको हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार बिर्तामोड नगरपालिकाको कोषमा ८३ लाख ८६ हजार ६९५ रुपैयाँ , दमक नगरपालिकामा ५७ लाख १० हजार । बाह्रदशी गाउँपालिकामा ५५ लाख ,कनकाई नगरपालिकामा ४३ लाख १४ हजार ९२२ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै मेची नगरपालिकामा ४० लाख ८५ हजार ,अर्जुनधारा नगरपालिकामा १६ लाख ५१ हजार ,कचनकवल गाउँपालिकामा ३२ लाख ६६ हजार ,कमल गाउँपालिकामा १९ लाख जम्मा भएको छ । त्यसैगरी गौरादह नगरपालिकामा ३३ लाख २२ हजार, गौरीगञ्ज गाउँपालिकामा ३७ लाख,झापा गाउँपालिकामा ३५ लाख,बुद्धशान्ति गाउँपालिकामा १२ लाख ३२ हजार र भद्रपुर नगरपालिकामा २७ लाख ९३ हजार रुपैयाँको कोष स्थापना गरेको छ ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाले १५ लाख र हल्दीबारी गाउँपालिकामा १९ लाख रहेको छ ।जिल्ला समन्वय समिति झापाले ५० लाख रुपैयाँको कोरोना रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेपनि सो कोषमा जिल्लाका आठ नगरपालिकाले तीन तीन लाख रुपैयाँ तथा सात गाउँपालिकाले दुई/दुई लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको थियो ।

तर, अहिलेसम्म जिल्लाको कोषमा तीनवटा स्थानीय तहबाहेक अन्य पालिकाले रकम जम्मा नगरेको समितिका प्रमुख पोर्तेलले बताउँनुभयो । कोषमा सबै स्थानीय तहले रकम जम्मा गरेको खण्डमा ३८ लाख रुपैयाँ जम्मा हुन्थ्यो र बाँकी रकम दाता र सङ्घसंस्थालाई जम्मा गर्न आह्वान गरिएको थियो ।