५ जनाको स्वाब रिपोर्ट नेगेटिभ,एक जना आइसोलेशनमा

0
Shares

मिला दरै,तनहुँ ।

जिल्लामा शनिबारसम्म पाँच जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीन जना विदेशबाट आएका र दुई जना स्थानीयलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको थियो । पाँच जनाको थ्रोट स्वाब गण्डकी प्रदेश स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार भानु नगरपालिकाका एक र ऋषिङ गाउँपालिकाका एक जनालाई स्थानीय तहले पोखरा स्वाब परीक्षणको लागि पठाएको थियो भने तीन जनाको दमौली अस्पतालमा थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाएको थियो । परीक्षणबाट उनीहरु सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

‘भानु नगरपालिका र ऋषिङ गाउँपालिकाका एक÷एक जनाको पोखरामा बिरामीलाई नै पोखरा पठाइएको थियो, व्यास नगरपालिका, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकाका एक÷एक जनामा ज्वरो देखिएपछि दमौली अस्पतालले स्वाब लिएर परीक्षणका लागि पठाएको थियो, अहिलेसम्म भएको थ्रोट स्वाब परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ अधिकारीले भन्नुभयो ।

एक जना आइसोलेशनमा

एक युवतीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेशनमा राखी उपचार भइरहेको छ । शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी एक किशोरीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेशनमा राखी उपचार गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

किशोरीलाई शुक्लागण्डकी नगरपालिकाकै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखी उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किशोरीको ट्राभल हिस्ट्री भने छैन । युएइबाट आउनुभएका उहाँको भिनाजु लकडाउनकै क्रममा घरमा आउनुभएको हुँदा संक्रमण हुन सक्ने आशंकामा आइसोलेशनमा राखेर उपचार गरिएको अधिकारीले बताउनुभयो ।

‘किशोरीको स्वाब परीक्षणबाट भने कोभिड १९ संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ, तर उहाँको उपचार भने आइसोलेशनमा राखेर नै भइरहेको छ,’ अधिकारीले भन्नुहुन्छ, ‘किशोरीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै पनि गएको छ ।’

क्वारेन्टाइनमा एक जना

जिल्लामा विदेशबाट फर्किएका ७२० नागरिक छन् । जिल्लाभरमा एक जना मात्रै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नुभएको छ । अन्य भने होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

विदेशबाट फर्किनुभएका एक जना पुरुष देवघाट गाउँपालिकाको धर्मार्थ अस्पतालको क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार उहाँले क्वारेन्टाइनमा बस्दा अन्यलाई रोग सर्न नपाउने र स्वास्थ्यप्रति सचेत हुनका लागि आफू स्वस्थ भएपनि क्वारेन्टाइनमा बसेको बताउने गर्नुभएको छ ।