झापामा करिब ४० हजार विपन्न परिवारलाई राहत

0
Shares

उत्तम नेपाल,भद्रपुर ।

झापाका सबै स्थानीय तहले सरकारको निर्देशन बमोजिम राहत वितरण कार्यलाई तीव्रता दिएको छ । जिल्लाका असहाय, गरिब, विपन्न, मजदुर परिवारलाई चलाउन समस्या परेपछि स्थानीय पालिकाले वडा कार्यालय र टोल विकास संस्थामार्फत करिब ४० हजार घरधुरीलाई राहत वितरण गरेको हो ।

करिब आठ लाख किलो चामल वितरण गरेको जिल्ला समन्वय समिति झापाले जनाएको छ । यस केही स्थानीय तहको विवरण आउन अझै बाँकी रहेको छ ।
अहिलेसम्मको विवरण अनुसार ३६ हजार ८०३ घरधुरीमा ८४ हजार ८८० विपन्न सदस्यका लागि ९० हजार किलो दाल, ५३ हजार किलो नुन, ३४ हजार लिटर खाने तेल, २५ हजार साबुन वितरण गरिएको छ । केही स्थानीय तहले चाउचाउ, आलु, चिउरा, चिया पत्ती, चिनी, अण्डा समेत वितरण गरेका छन् । भद्रपुरले खाद्यान्नसँगै नगरवासीका लागि १३० कार्टुन चाउचाउ वितरण गरेको छ । बुद्धशान्ति र भद्रपुर नगरपालिकाले ४५ हजार ४२५ केजी आलु वितरण गरेको बताइएको छ ।
दमक नगरपालिकाले खाद्यान्नसँगै तीन हजार ६१६ किलो चिउरा वितरण गरेको छ । भद्रपुर नगरपालिकाले १३० केजी खाद्यन्नसँगै चिनी समेत वितरण गरेको छ । कनकाई नगरपालिकाले खाद्यान्नसँगै ६३० क्यारेट अण्डा वितरण गरेको बताइएको छ ।

तेस्रो देश पुनस्र्थापना भई झापा र मोरङका शिविरमा बाँकी रहेका भूटानी शरणार्थीलाई झापा उद्योग संघले राहत स्वरुप चामल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई स्थानीय प्रशासनको समन्वय र सहयोगमा शिविरमै पुगेर झण्डै पाँच लाख रुपैयाँ बराबरको १० हजार केजी चामल उपलब्ध गराएको हो ।

बेलडाँगी शिविरका १६ सय र पथरी शिविरका ५२० परिवारका लागि चामल उपलब्ध गराइएको संघका अध्यक्ष टिकाराज ढकालले बताउँनुभयो । लकडाउनका कारण कामविहीन भई समस्यामा परेपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उनीहरुलाई सहयोग गर्न गरेको आग्रह अनुसार खाद्यान्न उपलब्ध गराइएको संघका अध्यक्ष ढकालले बताउँनुभयो ।

जिल्लाका विभिन्न प्रकारका उद्योगका उद्योगपतिबाट संकलन गरिएको राहत सामग्री प्रजिअ राना, संघका अध्यक्ष ढकाल, उपाध्यक्ष दिपेश ढकाल, कोषाध्यक्ष अरविन्द अग्रवाल, सदस्य विनोद वस्नेत लगायतको टोली शिविरमै पुगेर त्यहाँको समितिलाई एकमुष्ट रुपमा हस्तान्तरण गरेको थियो ।