भारतमा संक्रमित बढेसँगै सीमामा थप कडाई

0
Shares

सुभेन्द्र दास लहान ।

प्रदेश २ को सप्तरीमा पनि सशस्त्र प्रहरीले ४१ वटा चेक पोस्ट थप गरेको छ । सशस्त्र प्रहरीका सप्तरी प्रमुख एसपी उद्धव न्यौपानेका अनुसार यसअघि जिल्लामा २५ ठाउँमा सशस्त्र प्रहरीका चेकपोस्ट रहेकोमा हाल ६६ ठाउँमा राखिएको छ।

यसबाहेक पनि मोबाइल गस्ती टोली खटाइएको एसपी न्यौपानेले बताए। लकडाउन कार्यन्वयन गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ। भारतसँग बस्ती मिसिएका ठाउँ बाहेक अन्यत्रबाट प्रवेश गर्ने अवस्था नरहेको न्यौपानेले बताए।

कन्चनपुरमा पनि सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। औपचारिक सीमा लकडाउनसँगै बन्द गरिएको छ। अन्य नाकामा २४ सै घण्टा गस्ती बढाइएको सीडीओ खतिवडाले बताए।

कन्चनपुरमा बिहीबारबाट भारतीय नाकाबाट तरकारी बोकेका गाडीको आवात जावतसमेत रोकिएको छ।नेपाल र भारतको बीचमा १ हजार ८ सय ८० किलोमिटर लामो सीमा छ। सबै ठाउँमा सुरक्षा निकायले रोक्न नसक्ने भएकाले सीसी क्यामराबाट समेत निगरानी गर्नु पर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको सुझाव छ।

यस्तै नेपाल भित्रिन सक्ने अवस्थालाई हेरेर सीमामा सुरक्षाकर्मी समेत थप्नु पर्ने उनले बताए।भारतमा जोखिम बढ्दै गएपनि सीमा क्षेत्रका नागरिक समेत आफ्नो देशमा प्रवेश गर्न नदिन सक्रिय भएका छन्। स्थानीयकै सहयोगमा बिहीबार नेपाल प्रवेश गर्न लागेका १ सय ९४ जनालाई सर्लाहीको मलंगवास्थित सोनबर्सा नाकामा रोकिएको छ।

मुख्य नाका बन्द भएपछि चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपाल प्रवेश गर्न खोज्ने २७ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी क्वारन्टिनमा राखेका छन्।

सर्लाहीमा नेपाल भारतको ५१ किलोमिटर खुल्ला सीमा छ। त्यही खुला सीमाको फाइदा उठाउँदै ती नागरिकहरु नेपाल भित्रिन खोजेका थिए।

चैत ११ गते लकडाउनको घोषणा भएसँगै २ हजार बढी नेपाली भारतीय सीमानामा रोकिएका छन्। उनीहरुलाई समेत सरकारले नेपाल आउन दिएको छैन। ती नेपालीलाई भारतीय पक्षले नै खाना र आवासको व्यवस्था गरेको छ।

यता नेपालमा पनि करिब ७ सय भारतीय सीमा क्षेत्रमा रोकिएका छन्। उनीहरुलाई नेपालले नै खाना र आवासको व्यवस्था गरेको छ।
सिराहाको मुख्य र अन्य नाकामा सक्रियता बढाएको छ । त्यसका लागि ३४ ठाउँमा २४ सै घन्टा ड्युटी पोस्ट सञ्चालनमा ल्याएको छ ।

लकडाउनमा भारतसँग सीमा जोडिएका विभिन्न ठाउँका साना र सहायक नाकाबाट हुन सक्ने आवतजावत रोक्न गस्तीलाई निरन्तरण दिइएको सशस्त्र प्रहरी ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए ।

कँडेलका अनुसार सिराहाको सीमावर्ती ठाढी, नवराजपुर, बरियारपट्टि, इटाटार, लगडिगदियानी र माडरस्थित सशस्त्र प्रहरीको ६ वटा बोर्डर पोस्ट सञ्चालनमा रहेको छ । त्यसैगरी २८ ठाउँमा ड्युटी पोस्ट सञ्चालन गरी गस्ती भइरहेको उनले बताए ।

‘सीमा क्षेत्रको गस्ती अनुगमनका लागि सशस्त्र प्रहरी निरीक्षक रहने मार्डर र नवराजपुरमा डिएसपी खटाइएको छ,’ कँडेलले भने, ‘त्यसका अतिरिक्त हरेक ड्युटी पोस्टमा सशस्त्रका एक–एकजना अधिकृत खटाइएको छ ।’

त्यसबाहेक सीमा क्षेत्रमा मोटरसाइकल र मोबाइल भ्यानमा गस्ती पनि बढाएको उनले बताए । भारतको बिहार राज्यको मधुवनी जिल्लासँग सिराहाको पूर्व बलान र पश्चिम कमलानदीसम्म ४८ किलोमिटर खण्डमा मुख्य तीनसहित ३४ नाका छन् ।