शुक्रबारबाट न्यायालयको कामकारवाहीमा बृद्धि, आइतबारबाट झन् बढाइने

0
Shares

विकास भट्टराई, काठमाडौं

सर्वोच्च अदालतले आज शुक्रबार देखि नै न्यायालयका कामकारवाहीहरुलाई बढाउने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासहित सर्वोच्च अदालतको शुक्रबार बसेको फूल कोर्ट (पूर्ण बैठक) ले आज देखि नै न्यायालयका काम कारवाही बढाएको हो ।

यही चैत १२ गते देखि हिजो बिहीबारसम्म न्यायालयले बन्दीप्रत्यक्षीकरणको निवेदन, गम्भीर प्रकृतिको कोभिड—१९ संग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई, पक्राउ अनुमति, जरुरी पक्राउ पूर्जीको समर्थ, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिमको रकम तिरी र्कदबाट मुक्त हुन सक्ने निवेदनलगायत निवेदनको बारेमा मात्र कारवाही गरेको थियो ।

यस बाहेक आज शुक्रबार देखि अभियुक्तलाई हिरासतमा राख्न अनुमति दिने(म्याद थप गर्ने), अभियोगपत्र दर्ता गर्ने, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने जस्ता कार्यहरु गर्ने गरी फूलकोर्टले निर्णय गरेको छ ।

फूलकोर्टले आइतबारदेखि मुलुकी फौजदारी संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनको कारवाही र सुनुवाई तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम दर्ता भइसकेका पुनरावलोकनका निवेदनका सुनुवाई सम्बन्धी कार्य र लकडाउनको अवधिमा दरपीठ आदेश उपरको निवेदन दर्ता पनि सुचारु हुने निर्णय गरेको सर्वोच्च अदालतबाट थाहा भएको छ ।

फूलकोर्टको निर्णयमा भनिएको छ—‘कोभिड—१९ नियन्त्रणमा आइनसकेको र यसको संक्रमण फैलिने जोखिम कायमै रहेको हुँदा सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अदालतमा हुन सक्ने भीडभाड तथा रोग संक्रमणको जोखिम न्युनिकरण गर्न न्युन संख्याको जनशक्ति, कानून व्यवसायी र सेवाग्राहीको उपस्थिति व्यवस्थापन लगायतका अन्य उपयुक्त उपायहरु अवलम्बन गरी मुद्दाको कारवाही र सुनुवाईको प्रवन्ध सबै अदालत तथा न्यायाधिकरणहरुले मिलाउनु ।’

सबै प्रकारको व्यवस्था गर्नको समय लाग्ने भएका कारण लकडाउनको अवधि समाप्त भएको तीन दिन पछि अदालतका सबै कार्यहरु नियमित हुने पनि फूलकोर्टले निर्णय गरेको छ ।