कसरी पुँगौ मेरो प्यारो ओखलढुंङ्गा? ‘काठमाडौँ मानवता भएको शहर हैन रहेछ’

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे

मध्यरातको १२ बजे राजधानी स्थित ललितपुरको लगनखेलबाट हिडेर ओखलढुंगा हिडेका श्रमिकहरुको एउटै चिन्ता थियो कसरी पुगौ प्यारो ओखलढुङ्गा ? सरकारले पटक पटक लकडाउनको अवधी बढाए पछि अलपत्र परेका मजदुरहरु पैदल मार्फत नै ओखलढुङ्गा, सिराहा, सप्तरी लगायतका जिल्लाहरुको गन्तब्यमा पुगिरहेका छन् ।

‘रोजगारीका लागि राजधानी आएको केहि दिनमै मुलुकमा संकट उत्पन्न भयो, केहि दिन काम गरेको पैसाले १७ दिनसम्म कोठामा बस्ने वातावरण बन्यो, जब पैसा पनि सकियो, राहत पनि प्राप्त भएन, सहयोग पनि कसैले गरेन त्यसपछि हामी हिडेरै ओखलढुंगा जानुको विकल्प भएन’–मजदुर निकेश मगरले भन्नुभयो–‘श्रीमती र तीन सन्तान सहित हामी १४ जनाको समुह ओखलढुगा जान लागेका हौं ।’

कम्तिमा ६ दिनमा पुग्ने अनुमान गरेको उक्त समुहमा चार जना बच्चा छन् । काठमाडौ मानवता हराएको शहर रहेको उनिहरुको अनुभुती छ । मजदुर तथा अति विपन्न परिवारका लागि सरकारले राहात वितरण गरे पनि प्राप्त गर्न नसक्दा जन्मभूमि फर्कनुको विकल्प नभएको उनिहरुले बताएका छन् ।

‘गोजीमा भएको पैसा सकियो, कोठामा खाद्यान्न छैन, राहात लिन जाँदा विविध कारण देखाउँदै हामीलाई दिन मानेनन’–मजदुर विमल मगरले भन्नुभयो–‘हामीलाई दोश्रो दर्जाको नागरिकको ब्यवहार गर्ने राजधानी श्रम लिने तर विपदमा सहयोग नगर्ने रहेछ ।’ राजधानीमा रहेका जनप्रतिनिधिहरु, प्रहरी तथा अन्य अभियान्ताहरुले समेत मजदुरहरुका लागि वेवास्ता गरेको उनिहरुले बताए ।

 


विमलको डेड वर्षको छोरा छन् । उनले काखमा छोरा सहित झोला समेत बोकेर पैदल यात्रा गरिरहेका छन् । उनको परिवारका सदस्यहरु पनि छन् । निकेशका तीन सन्तान छन् । ६ वर्ष, चार वर्षका दुई छोरा र ३ वर्षकी छोरी लिएर उनि पैदलमा छन् । लकडाउन खुल्ला र सहज वातावरण बन्ला भन्ने सोचेका मजदुरहरु तब अलपत्र जब पटक पटक लकडाउनको अवधी थपिदै गयो ।

बैशाख ३ गते सम्म थपिएको अवधी पछि के हुने हो ? अझै निश्चित छैन । त्यहि कारण पनि हिडेरै गन्तब्यमा लागिएको उनिहरुले बताएका छन् । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका पलम्पु घर भएका उनिहरुको बस्ने र खाने निश्चित छैन । आफु त सडकमै बसिएला बच्चाहरुलाई के हुने हो ? के खुवाउनु ? समस्या अनगिन्ति छन् ।

खान पाईएला तर शौच कहाँ गर्ने ? सडकमा बस्दा र हिड्दाका थप समस्या छन् । जिल्लामा नमोबुद्ध र रोशी गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र ट्रक मार्फत यात्रुहरुलाई सहजता प्रदान गरे पनि सरकारका निकायले लकडाउन उल्लंघन गरेको आरोप लागेपछि रोकिदिएका छन् ।

अरनिको र विपी राजमार्गमा दैनीक सयौ ब्यक्तिहरु पैदल हिडेरै गईरहेका छन् । सामाजिक दुरी कायम गर्ने, अन्य सुरक्षाका उपाय अपनाउनु पर्ने भए पनि जसरी पनि घर पुग्नु पर्ने बाध्यतामा मजदुरहरु छन् । जनप्रतिनिधिहरुले पनि स्वार्थ बाहेक अरु नहेरेको उनिहरुको गुनासो छ । राजधानी तथा अन्य स्थानमा बसेका मजदुरहरुलाई नागरिकता तथा स्थायी बासिन्दा नभएका कारण राहत उपलब्ध हुन सकेको छैन ।

‘पक्कि घर हुनेहरुले भोटका नाममा राहत प्राप्त गरेका छन्’–मजदुर विमलले भन्नुभयो–‘हामी भोट र नोट दुबै दिन सक्दैनौं । पसिना मात्रै दिनेहरुलाई कसले दिन्छ राहत ?’ ओखलढुङ्गा जाने टोलीलाई उग्रचण्डी दाना डिपो बनेपाका रामकुमार श्रेष्ठ लगायतले चाउचाउ, चिउरा, पानी उपलब्ध गराई दिनु भयो ।