कुखुरा व्यबसायीका समस्याप्रति गम्भीर बन्न आग्रह

0
Shares

हेटौंडा

नेपाल आत्मनिर्भर भएको कुखुरा व्यबसाय केही समयअघि वर्डफ्लुका कारण धारासयी भयो । हाल कोरोनाले समाप्त पार्ने अबस्थामा छ । हाल दाना खुवाउन नसकी र बिक्री नभएर चल्ला र कुखुराहरु पु्र्नुपरेका समाचार र भिडियो सार्वजनिक भइरहेका छन् ।

‘दाना खान नपाएर कुखुरा मरेको देख्दा, थुप्रिएका अण्डा बिक्री नभएर फाल्नुपर्दा, बिक्री गर्नुपर्ने ब्रोइलर कुखुरा बिक्री नभएर मर्दा, अनि दिनहँु बढ्ने बैंकको ब्याज र धितो रहेका घरजग्गाको ऋण कसरी तिर्ने भनी सम्झँदा ती किसानलाई कति पीड़ा भइरहेको होला ? उनीहरुको चित्त बुझाउने ठाउँ र आधार के छ ? सबैले बुझौं र मनन् गरौं, उनीहरुलाई आफ्नो ठाउँमा राखेर सोचौं,’ जनसरोकार केन्द्र, मकवानपुरले विज्ञप्तिमा भनेको छ ।

केन्द्र संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागार्र्इंले जारी गरेको विज्ञप्तिमा कोरोनासँग जुध्न सबै शक्ति लगाएको सरकार यस विषय पनि संवेदनशील रहेको भन्दै समाधान गर्न ढिला गर्न नहुने भएकाले यदि लकडाउनको अवधि पुनः थप्ने अबस्था रहे यो र यस्ता संवेदनशील समस्या समाधानका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारलाई प्रभावकारी योजना बनाउन अनुरोध गर्नुभएको छ ।

‘क्षति भएका किसानलाई राहत दिएर सहयोग गर्न र समस्यामा परेकालाई चाँडोभन्दा चाँडो उचित निर्णयसहित राहतको व्यबस्था गर्न र गराउन अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ–यो साझा समस्या भएकोले समाधानका लागि ऐक्यवद्धता जनाएर व्यबसायीलाई सहयोग गर्न अनुरोध गर्दछु ।