कोभिड–१९ः पाँच लाखको निःशुल्क स्वास्थ्य सामग्री प्रदान

0
Shares

विमल विष्ट, डोटी ।

डोटी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाइ स्वास्थ्य सामग्री नहुँदा समस्या भैरहेको बेला डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले निःशुल्क उपलब्ध गराउनु भएको छ । उहाँले जिल्लाका स्वास्थ्यकर्मीका लागि निःशुल्क रुपमा उपलब्ध गराउनु भएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण अभियानमा सम्लग्न रहेका चिकित्सकहरुका लागि उहाँले कम्तिमापनि रु पाँच लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री निःशुल्क प्रदान गर्नु भएको थियो । उक्त स्वास्थ्य सामग्री आजबाट यहाँका नौ वटा स्थानीयतहमा रहेका स्वास्थ्य संस्थालाइ बितरण गर्ने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाइ पर्याप्त स्वास्थ्य सामाग्री नहुँदा समस्या भएको जानकारी पाएपछि सांसद आलेमगरले आफ्नो व्यक्तिगत लगानीमा सेनिटाइजर २०० पिस, पिपिइ (पर्सनल प्रोटेक्टेड इक्युपमेण्ट) ११० सेट, सुजकभर एकहजार जोडी, क्याप एक हजार जोडी, ग्लोब्स एकहजार २०० जोडी, र मास्क एक हजार पिस प्रदान गर्नुभएको छ ।

 

संघीय सांसद आलेमगरले प्रदान गर्नु भएको स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत जिल्ला जनस्वास्थ्य प्रमुख रमेश मलासीलाइ हस्तान्तरण गरिएको छ ।

सांसद आलेमगरले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि जिल्लामा चिकित्सकहरुलाइ बिरामी चेक जाँच सहित कोरोना नियन्त्रण अभियानमा अब सहज हुने जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सामाग्री नहुँदा हामीलाइ निकै समस्या भएको थियो,सांसद आलेमगर ज्यूले स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएकोछ, अब सहज हुने भएको छ ।”

जिल्लामा स्वास्थ्यकर्मीका लागि आवस्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा चिकित्सकहरुले जोखिम मोलेरै बिरामीको चेक जाँच गर्दै आएका थिए । सांसद आलेमगरले उपल्बध गराउनु भएको स्वास्थ्य सामग्री जिल्लामा सूचना संङ्कलनमा दिनहुँ खटिने पत्रकारलाइ समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यसैगरी संघीय सांसद प्रेमबहादुर आलेमगरले डोटीको शिखर नगरपालिका १ कपल्लेकी बस्ने स्थानीय चम्पा सार्कीलाइ रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लकडाउनका कारण घरमा खाने पिने समस्या भएको खबर पाएपछि सासंद आलेमगरले निज सार्कीलाइ रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको कपल्लेकीका स्थानीय नेत्रबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चम्पाको घरमा निकै समस्या थियो, माननीय ज्यूले खबर थाहा पाउनु भएको रहेछ र पैसा पठाउनुभयो,सारै राम्रोकाम गर्नु भयो ।” घरमा आमा बुवा समेत नभएको र घरको आर्थिक अवस्था निकै कम्जोर भएकी निज सार्कीलाइ सांसद आलेमगरले बिसं २०७३ साल पुष महिनादेखि पढाइ खर्चका लागि मासिक रु पाँच हजार दिदै आउनु भएको समेत नेता शाहीले जानकारी दिनुभयो ।

संघीय सांसद आलेमगरले पठाउनु भएको रु ५० हजार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत निज सार्कीलाइ प्रदान गरिएको हो । निज सार्की हाल डोटी बहुमुखी क्याम्पसमा व्याचुलर चौथो वर्षमा अध्यनरत हुनुहुन्छ । संघीय सांसद आलेमगरले प्रदान गर्नु भएको आर्थिक सहयोगले आफ्नो छाक टर्नुको साथै पढाइमा समेत सहयोग पुग्ने चम्पा सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँचहजार पढाइ खर्च त सधै दिनु हुन्थ्यो तर यसपाली घरमा पैसा नहुँदा समस्या थियो, माननीय ज्यूले पठाइदिनुभयो,मेरो क्पाम्पसको फिस र घरखर्च चल्ने छ, सारै खुसिछु, दुःखी गरिब लाइ सहयोग गरेकोमा ।”