डोटीमा तीन सय ३० को स्वाब सङ्कलन


विमल विष्ट, डोटी ।

डोटीका नौवटा स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकोे छ । क्वारेन्टाइनमा राखिएकाहरुको स्वाव सङ्कलन गरि टोली आज कैलाली जिल्लामा स्वाव सङ्कलनका लागि प्रस्थान गरेको छ ।

भारतका बिभिन्न शहरबाट कामगरी घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब सङ्कलन गरिएको कोभिड–१९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो- “क्वारेन्टाइनमा भएका नागरिकको हामीले स्वाव सङ्कलन गरेका छौँ, अब परिक्षण हुने छ ।”

क्वारेन्टाइनमा राखिएकाहरुको नमूना अर्थात स्वाव सङ्कलन गर्न प्राविधिकहरुको टोली बुधवार बिहान डोटी पुगेको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणका बिरामीको संङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाव सङ्कलनका लागि विशेषज्ञ डाक्टर सहितको टोली मंगलवार अछाम र बुधवार डोटी आइपुगेको हो ।

टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाव सङ्कलन गरेको छ । उक्त गाउँपालिकामा सबै भन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाव सङ्कलन भएको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति विष्टले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकामा दुइ जना सुरक्षाकर्मी सहित ७६ जनाको स्वाव सङ्कलन गरिएको छ । स्वाब सङ्कलनमा नेपाली सेना, सशस्त्र प्रहरी र निजामती चिकित्सकका टोली रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जनाकारी दिनुभयो । टोलीले सङ्कलन गरेको स्वाब परिक्षणका लागि काठमाण्डौँ पठाइएको प्रजीअ पौडेलले बताउनुभयो । जिल्लाका ६ ठाउँमा स्वाब सङ्कलन गरिएको थियो ।

जिल्लाका नौ स्थानीयतह मध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालीकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपिनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परिक्षण सङ्कलन केन्द्र तोकिएको थियो ।

स्वाव सङ्कलन गरिएकाहरुको रिपोर्ट तिनदेखि चार भित्रमा आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । गएको शनिवार मात्रै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भारतबाट कामगरी फर्किएका दुइजना युवामा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण देखिएपछि अहिले यहाँका सबै प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय सरकारले लकडाउनमा थप कडाइ गर्नुका साथै आवत जावतमा पूर्ण बन्देज गरेको छ । भारत संग सिमा जोडिएका यहाँका सिमानाकाहरुमा सशस्त्र प्रहरी प्ररिचालन गरी थपकडाइ गरिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको संवेदनशिलता लाई मध्यनजर गर्दै क्वारेण्टाइनमा बसेकाहरुको समयाबधिको समय थप गरेको छ ।

यस अघि भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाई १४ दिनका लागि क्वारेण्टाइनमा राखिएको थियो । यो अबधि सरकारको निर्णय अनुसार एकहप्ता अरु थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेण्टाईनमा राखिएकाहरुलाई थप एक हप्ता गरि २१ दिन अनिवार्य क्वारेण्टाइनमा राख्न सम्बन्धित पालिकाहरुलाई पत्राचार गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा देखिएका कोरोना संक्रमणहरुमा छोटो अबधिमा खासै लक्षण नदेखिएकाले यहाँका क्वारेन्टाइनमा बसेमाहरुका लागि २१ दिन क्वारेण्टाइनमा राख्ने निर्णय भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिन पहिले प्रदेश बासिलाई सम्बोधन गर्दै क्वारेण्टाइनको समयाबधि एक हप्ता थपगरी २१ दिन पु¥याउन सबै स्थानीयतहलाइ आग्रह गर्नु भएको थियो ।