शंकर ग्रुपको लुट धन्दा, कालोबजारी गर्ने अग्रवाल रंगेहात प्रहरीको फन्दामा


परिवर्तन देवकोटा, काठमाडौं ।

मुलुककै ठूलो व्यापारिक घरना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका छन् । कोरोना संक्रमणको उच्च जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउनमा मुलुक गुज्रिरहँदा ठूला घराना सञ्चालक नै कालोबजारीमा उत्रँदा उद्योगमाथि नै प्रश्न उठेको छ ।

अग्रवाललाई मंगलबार रंगेहात पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सहकुल थापाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
किर्गिस्तानका लागि अनररी कन्सुलरसमेत रहेका अग्रवालले बजार मूल्य करिब ३ हजार ५ सय पर्ने थर्मल गनलाई प्रतिगोटा १५ हजार रुपियाँमा बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको एसएसपी थापाले जानकारी दिनुभयो ।

अपराध महाशाखाको टोलीले उनको साथबाट २०९–एचसी–१ नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुविसी, पजेरो गाडी तथा उक्त गाडीको डिकीमा राखिएको ६७ थान थर्मल गनसमेत बरामद गरेको छ ।

 

कसरी गरियो पक्राउ ?

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले नेपाल समाचारपत्रसँग गर्नुभएको कुराकानी जस्ताको तस्तैः ‘उहाँ (अग्रवाल)ले थर्मल गन बढी मूल्यमा बेचेको भन्ने कुरा हामीलाई जानकारी आयो । त्यसपछि हामीले डिलिङ गर्यौं । त्यतिखेर उहाँले १६ हजार प्रतिगोटा भन्नुभयो । हामीले बार्गेनिङ गर्दा सय पिस चाहिन्छ भन्यौं । हामी मेडिकल किट सप्लायर्स हौं भनेर उहाँसँग कुरा गर्यौं ।

त्यसपछि उहाँले १ पिसको १५ हजारमा दिन्छौं कति चाहिन्छ भन्नुभयो । हामीले सय पिस चाहिन्छ भन्यौं । उहाँले १५ लाख क्यास ल्याउनुस् भन्नुभयो । हामीले क्यास छैन चेक दिन्छौं भन्यौं । तर उहाँले मँन्नुभएन । क्यास नै माग्नुभयो ।

क्यास हामीले हिजो बेलुकासम्ममा तयार गर्यौं । हिजो बेलुका उहाँले बेलुका भयो अहिले नगरौं भन्नुभयो । त्यसकारण हामी आज बिहान उहाँलाई भेट्न गयौं । भेटेर हामीले सो सामान बरामद ग¥यौं र उहाँलाई पनि नियन्त्रणमा लियौं । उहाँलाई कालोबजारीअन्तर्गतको मुद्दामा म्याद थप गरिनेछ ।

 

उपभोक्ता अधिकारकर्मी भन्छन्ः हदैसम्मको कारबाही होस्

कोरोना भाइरसको संक्रमणको उच्च जोखिमलाई न्यूनीकरणका लागि सरकारले लकडाउन जारी गरेको अवस्थामा स्वास्थ्य सामग्रीमा ठूला व्यापारीले नै कालोबजारी गरेको घटना निकै लज्जास्पद र आपत्तीजनक भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले बजार अनुगमनका क्रममा ठूला व्यापारी नै कालोबजारी गर्दै गरेको भेटिनु अत्यन्तै दुर्भाग्य र खेदजनक कुरा भएको बताउनुभयो ।

कालोबजारी गर्ने अग्रवाललाई जुनसुकै हालतमा कानुनबमोजिमको कारबाही हुनुपर्ने बताउँदै उहाँले दुईवटा कानुनअन्तर्गत रहेर कारबाही गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसारको कारबाही तथा अत्यन्त संवेदनशील अवस्थामा स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नु ठूलो अपराध भएको बताउँदै उहाँले कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले ठूला व्यापारीलाई कालोबजारी मुद्दामा यथाशीघ्र कारबाही गरेर भोलिका दिनमा राम्रो नजिर बसाल्न पनि सरकारसँग माग गर्नुभयो ।

यस्तै, उपभोक्त अधिकारकर्मी ज्योति बानियाँले मुलुक संकटको घडीमा गुज्रिरहँदा मुलुकलाई सहयोग गर्नुपर्ने व्यक्तिबाटै कालोबजारी हुनु अत्यन्तै निन्दनीय भएको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले कुनै पनि हालतमा अग्रवाललाई कारबाही गर्न माग गर्नुभयो ।

 

परिसंघका अध्यक्ष भन्छन्ः हामीलाई थाहा छैन

कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परेका अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन् । उनी पक्राउ परेको घटना सार्वजनिक भएपछि परिसंघका अध्यक्ष सतीशकुमार मोरले व्यक्तिले गरेको घटनामा संस्था जोड्न नहुने तर्क गर्नुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले अग्रवालले कालोबजारी गरेको भन्दै प्रहरीले हनुमान ढोकामा लगेर राखेको बाहेक अरू थाहा नभएको सुनाउनुभयो । उहाँले भन्नुभयो– ‘सीएनआईलाई व्यक्तिले के गर्छ भन्ने थाहा हुँदैन, संस्थाले गरेको काम हैन ।’

उहाँले संस्था अहिले बोल्न सक्ने ठाउँ नै नरहेको भन्दै आफूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको र एकतर्फी मात्रै कुरा आएकाले यसबारे केही भन्न नसक्ने बताउनुभयो ।