सुरेश तामाङ, काठमाडौं ।
समाज कल्याण परिषद्ले नेपालका विभिन्न स्थानलाई कार्यक्षेत्र बनाई स्वास्थ्यमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई अत्यावश्यक स्वास्थ्य सामग्री चाँडो उपलब्ध गराउन आग्रह गरेको छ ।
स्वास्थ्य सामग्री ल्याएर एकद्वार प्रणालीमार्फत् वितरण गर्नसमेत परिषद्ले भनेको छ । परिषद्ले नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन (एआईएन) सँग यस्तो आग्रह गरेको हो ।
परिषद्का उपनिर्देशक दुर्गा भट्टराईले स्वास्थ्य सेवा विभागले पहिचान गरेका स्वास्थ्य सामग्रीहरु व्यक्तिगत सुरक्षित सामग्री (पीपीई), स्यानिटाइजर, मास्क, ग्लोबको चाँडो उपलब्ध गराउन भनेको जानकारी दिनुभयो ।
‘विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन परिषद्ले स्वास्थ्य सेवा विभागसँग सहकार्य गराई आईएनजीओहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन परिचालन गराउन लागिएको छ’, उहाँले भन्नुभयो ।
यसरी प्राप्त भएको सामग्री विभागमार्फत् वितरण गर्ने एकद्वार प्रणाली लागू गर्न लागिएको उहाँले बताउनुभयो । यसमा आफूहरुले पनि सरकारलाई साथ दिन इच्छुक रहेको एआईएनका अध्यक्ष अच्युत लुइँटेलले बताउनुभयो । विभाग र स्वास्थ्य मन्त्रालयसँग सहकार्यमा काम गर्न लागिएको उहाँको भनाइ थियो ।
‘केही दिनमै हामी सामग्री ल्याउने तरखरमा छौं ।’, उहाँले भन्नुभयो ।
समाज कल्याण परिषद्का अनुसार नेपालमा हालसम्म २ सय ३७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । परिषद्का उपनिर्देशक दुर्गा भट्टराईले बताउनुभएअनुसार ४५ वटा आईएनजीओले मात्रै स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् भने ६ वटा आईएनजीओले अस्पतालहरुमा सहयोग गर्दै आइरहेका छन् ।











प्रतिक्रिया