धुलिखेल अस्पतालमा ११ जनाको स्वाब परीक्षण, ‘आपत्कालीन व्यवस्था कमिटी’ गठन


नेपाल समाचारपत्र, काभ्रे

 

कोरोना भाइरसको संक्रमणको रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा आपत्कालीन व्यवस्था कमिटी गठन भएको छ ।

 

कमिटीले संक्रमणको आशंका गरिएका व्यक्तिहरुको उद्धार गरी सम्बन्धित स्थानमा पठाउन सहयोग गर्नेछ । कमिटीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ । यसअघि गठित कमान्ड पोस्टका सदस्यहरु सुरक्षा निकायका प्रमुखहरु कमिटीमा सदस्य रहनुभएको छ ।

 

नेपाली सेना विष्णु दल गणका प्रमुख सेनानी सुवास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्रका एसपी पुरुषोतम थापा, राष्ट्रिय अनुसन्धानका सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार रहेका छन् ।
आइतबारबाट शुरु भएको कोरोना संक्रमणको परीक्षणका लागि धुलिखेल अस्पतालमा ११ जनाको स्वाब लिइएको छ ।

 

विदेशबाट फर्किएका र केही शंकास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालका डा. निरञ्जन भुसालले जानकारी दिनुभयो । अस्पतालले थोरै सामग्रीका बाबजुद परीक्षण शुरु गरेको संस्थापक डा. राजेन्द्र कोजुले जानकारी दिनुभयो ।

 

अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेसन वार्ड तयारी गरी बिरामीहरुको उपचार भइरहेको डा. कोजुले बताउनुभयो । ‘टेकु र धुलिखेल अस्पतालमा रियलटाइम पीसीआर परीक्षण हुनेछ’, डा.भुसालले भन्नुभयो– ‘परीक्षणको चार घण्टामा रिर्पाट सार्वजनिक गर्न सकिन्छ ।’ यो उच्चस्तरको जाँच हो ।

 

अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणपछि बुधबार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ । बिहान १२ बजे अगावै आइसकेका व्यक्तिहरुको मात्रै परीक्षण गरिने डा. भुसालले जानकारी दिनुभयो । यसअघि अस्पतालले ७ जना शंकास्पद व्यक्तिको स्वाब टेकु पठाएको थियो । सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

आमाको मृत्यु, छोरीको स्वाब परीक्षण

पनौती १२ भुमेडाँडा कलाँती घर भएकी ५० वर्षीया महिलाको आइतबार बिहान उपचारको क्रममा निधन भएको छ । महिलालाई एक्कासि पेट र टाउको दुःखी बिरामी भएपछि धुलिखेल अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेपछि मृतक महिलाको शवबाट स्वाब लिई परीक्षणका लागि पठाइएको छ ।

 

महिलाको छोरी २८ वर्षीाय चैत ३ गते कतारबाट नेपाल आउनुभएको थियो । केही दिन आमासँग बसेर काठमाडौं गएकी उनीले आमालाई बिरामी भएको थाहा पाए पनि अस्पताल पु¥याउने कुरामा चासो नराखेको आशंका गरिएको छ । श्वास फेर्न असहज भएर केही दिन ज्वरो आए पनि अस्पताल नपु¥याएका कारण महिलाको निधन भएको आशंका गरिएको छ । महिला क्षयरोगको नियमित औषधी सेवन गर्ने व्यक्ति हुन् ।

 

महिलाको निधन भएपछि वडा, नगरपालिका, जिल्ला कमान्ड पोस्ट र अस्पतालले सतर्कता अपनाएको छ । उनलाई अस्पताल ल्याउने र उनीसँग सम्पर्क भएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छोरीको स्वाब परीक्षणका लागि पठाइएको छ । यसअघि सोही स्थानका एक जना अस्पताल भर्ना भई घर फर्किसकेका छन् ।