कोभिड–१९ महामारीका कारण जलवायु सम्मेलन स्थगित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण तय भईसकेको जलवायु सम्मेलन स्थगित भएको छ । यसै वर्षको नोभेम्बर ९ बाट ब्रिटेनको ग्लास्गोमा तय भई सुरु हुने बताईएको यस सम्मेलन अर्काे वर्षसम्मका लागि स्थगित भएको हाे ।

 

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूबीचको संयुक्त बैठकपछि यस्तो निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । यस वर्ष हुने भनिएको सम्मेलनलाई महत्वपूर्ण रुपमा हेरिएको थियो । सम्मेलनमा दर्जनौँ विश्व नेताहरू सहभागी हुँदै थिए। अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।

 

विश्वभरि भाइरसको सङ्क्रमण फैलिरहँदा पछिल्ला साता यो सम्मेलन पनि पर सारियोस् भन्ने आवाजहरू सुनिन थालेका थिए। स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदै थिए ।

 

जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको पाँचवर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुतगर्ने अपेक्षा गरिएको थियो। वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन्।