मेडिकल सामग्री लिन जहाज पुनः उड्यो चीनतिरै

0
Shares

भगवती तिमल्सिना, काठमाडौं

 

कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक पर्ने मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगमको जहाज बिहीबार चीनतर्फ उडेको छ ।
यसअघि ओम्नी ग्रुपबाट ल्याइएका सामग्री खरिद प्रक्रियाको अनियमितताका कारण चौतर्फी विवादमा परेपछि स्वास्थ्य मन्त्रालयले सो ग्रुपसँग भएको सम्झौता रद्द गरी नयाँ कम्पनीसँग सामान खरिद गर्ने प्रयोजनले विमान पुनः चीन गएको हो ।

 

‘व्यापारीहरूको अर्को समूहले सामान उपलब्ध गराउने भएको छ।’ –स्वास्थ्य मन्त्रालयले नेपाल समाचारपत्रलाई जानकारी गरायो ।
नेपाल वायुसेवा निगमको वाइडबडी (एयरबस ए–३३०) जहाज बिहान ११ बजेर २६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वाङ्जाओतर्फ उडेको हो ।

 

सरकारले ओम्नी ग्रुपसँग सम्झौता रद्द गरेलगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन ‘कोटेसन’ दिएको पनि मन्त्रालयले जनाएको छ । मेडिकल सामग्री आपूर्तिका लागि सप्लायर विशाल पण्डित समूहलाई छानिएको छ ।

 

पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा सञ्चार माध्यमसमक्ष स्विकारेका छन् । वाइडबडी विमानमार्फत विभिन्न व्यापारी मिलेर सामग्री ल्याउन लागेको जनाएका छन् । यो सबै साथीहरूले जम्मा गरेको सामान भएको र शुक्रबार बिहान ४–५ बजेसम्म काठमाडौं ल्याइपु¥याउने योजना रहेको उनले जानकारी गराए ।

 

विमानले करीब ३० टन सामग्री ल्याउने बताइएको छ ।

 

अहिले ल्याउन लागिएको सामानमा फुल सेट पीपीई, एन–९५ मास्क र इन्फाइराइड थर्ममिटर प्रमुख छन् ।
ओम्नी ग्रुपसँग सम्झौता तोड्ने निर्णयसँगै केही उद्योगी व्यापारीले बजारमा मेडिकल सामग्री हाहाकार हुने हो कि भन्ने अनुमान गरे पनि व्यापार व्यवसायमा त्यस्तो नहुने कुरा पण्डित समूहले प्रमाणित गरेर देखाउन लागेको व्यापारीहरूको धारणा छ ।

 

स्वास्थ्य प्रशासक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मुलुकमा मेडिकल सामग्रीको अभाव नहुने र सही मूल्यमा सामग्री नेपाल भित्रिने बताउनुभयो ।