सशस्त्रका एसपीको रगतले सुत्केरीको ज्यान बच्यो

0
Shares

विमल विष्ट,डोटी। 

सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणका गणपती तथा सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । सो गणले दिएको जानकारी अनुसार गणपती बुढामगरले प्रदान गर्नु भएको रगतका कारण जिल्लाको सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीय सीता बिकको ज्यानबचेको हो ।

पेटमा जुम्ल्याह बच्चा भएकी बिकले सोमबार एउटा बच्चा गाउँमै पाएकी थिइन् । अर्को बच्चा पाउँन नसके पछि उहाँलाई दिपायलको राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो ।
अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाइ खबर गर्दा गणपती बुढामगरले आज मङ्गलबार रगत दिनु भएपछि बिकको ज्यान बचेको सुजङ्ग अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणपती बुढामगरले एक सपण्ट ‘बी पोजेटिभ’ रगत प्रदान गर्नु भएको थियो । रगत पाएपछि अहिले आमा र दुबै बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्लामा ब्लड बैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीका धाउने गरेका छन् ।