म्याग्दी कोरोना अपडेट : ४९ जना क्वारेन्टाइनमा, ६ जना घर फर्किए

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ६ जना विदेशबाट आएको १४ दिन पुगेपछि घर फर्किएका छन् । क्वारेन्टाइनमा बस्नुपर्ने समय पुगेको हुँदा बेनीबाट ४ जना र रघुगंगा गाउँपालिकाबाट २ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

विदेशबाट फर्किएका एक जनालाई बेनी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको छ भने स्वाब परीक्षणका लागि पोखरा पठाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम बेनीस्थित न्यु वेष्ट प्वाइन्ट कलेजमा २० जना, रघुगंगामा १७, मंगलामा ९ र अन्नपूर्णमा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

म्याग्दी जिल्लाभर कुल १ सय ६२ बेडको क्वारेन्टाइन र ६ ओटा आइसोलेसन बेडको क्षमता रहेको छ । तीमध्ये रघुगंगा गाउँपालिकामा ५०, धवलागिरीमा ४०, अन्नपूर्णमा १५, मंगलामा ९ र मालिकामा ८ बेडको क्वारेन्टाइन बनाइएको छ ।

यसैगरी सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट प्वाइन्टमा ३० र माउण्ट एभरेष्ट आवासीय माविमा १० बेड क्षमताको क्वारेन्टाइन रहेको छ । विश्वरभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्नका लागि विदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।