बजारमा खाद्यान्न अभाव हुँदैनः प्रजिअ पौडेल


विमल विष्ट, डोटी ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा जिल्लामा खाद्यान्न अभाव नहुँने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भएको छ । सञ्चारकर्मीसंग कुराकानी गर्नु हुँदै प्रजिअ पौडेलले जिल्लामा तीन महिनाका लागि खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य बस्तु मौजाद रहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “हामीसंग तीन महिनाका लागि पुग्ने खाद्यान्नछ, अब गहुँ लगायतका खेतीपनि पाकी सकेकाले खाद्यान्न अभाब हुँदैन ।” त्यस्तै जिल्लास्थित व्यापारीहरुको संस्था डोटी उद्योग बाणिज्य संघ तथा चेम्बर अफ कमर्सका पदाधिकारीहरुसंगको छलफल पश्चात प्रजिअ पौडेलले जिल्लामा खाद्यान्न संकट हुँन नदिन तथा कालोबजारी गर्न नदिन समेत आग्रह गर्नु भएको छ ।

 

जिल्ला बासीलाई खाद्यन्नको अभाव हुन नदिने गरी सबै व्यवस्था मिलाएको समेत उहाँले जानकारी दिनु भएको छ । बजारमा खाद्यन्न अभाव भए तुरुन्त जानकारी दिन जिल्लावासीलाई उहाँले आग्रह समेत गर्नु भएको छ । “कोरोनाको संक्रमणबाट जोगिनोस घरैमा बसिदिनुस,” उहाँले भन्नुभयो, “खाद्यान्नको अभाब हुँदैन सबै व्यवस्था हामीले मिलाएका छौँ, खाद्यान्न नपाए फोन गर्नुस, म व्यवस्था मिलाउ छु ।”

 

लकडाउनको समयमा जिल्ला तथा नगरवासीलाई बजारमा ननिस्कन आग्रह गर्दै उहाँले थप भन्नुभयो, “बिनाकाम रोग लाग्नका लागि बजारमा किन निस्किने घरैमा बस्नुस अझै धेरै वर्ष बाच्नुस ।” त्यस्तै प्रजिअ पौडेलले प्रशासनका कर्मचारीले यहाँका बजारमा रहेका डिलरहरुमा गएर खाद्यान्न लगायतका मौजाद रहेको दैनिक उपभोग्य बस्तुको तत्थ्यांङ्क सङ्कलन गरेको जानकारी दिनुभयो ।

 

जिल्लामा आवश्यक परेको बेला बितरण गर्नका लागि चामल एक हजार ८०० क्वीण्टल, गहुँ क्वीण्टल, दाल ९५ क्वीण्टल, खानेतेल एक हजार २०० पेटी, नुन ६९ क्वीण्टल,चिनी ५० क्वीण्टल, ज्ञास १६५ सिलिण्डर तथा डिजल ३० हजार लिटर मौजात राखिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।