डोटीमा कोरोना संक्रमित बोक्न चार एम्बुलेन्स तयारी अवस्थामा


विमल विष्ट, डोटी ।

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएका शंकास्पद बिरामीलाई आइसोलेटेड वार्डसम्म पुर्याउनका लागि जिल्लाका चारवटा स्थानीयतहले आफ्ना एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् ।

 

जिल्लाको दिपायल सिलगढी, शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा पूर्वीचौकी गाउँपालिकामा रहेका एम्बुलेन्सहरुलाइ कोरोना संक्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएको जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कोरोनाको संक्रमित भएका वा आशंका गरिएका बिरामी बोक्न आवश्यक उपकरण सहित एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ, बिरामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्दार अस्पताल लगिने व्यवस्था गरिएको छ ।”

 

उहाँका अनुसार ति चार वटै एम्बुलेन्सका चालकलाई आवस्यक सुरक्षाका सामग्री समेत प्रदान गरिएको बताइएको छ । आफ्नो स्वास्थ्य जोखिममा पारेर बिरामी बोक्नुपर्ने अवस्था आएको गुनासो एम्बुलेन्स चालकले गरिरहेका बेलामा सम्बन्धित स्थानीयतहले चालकलाई सुरक्षाका सामग्री प्रदान गरेको हो ।

 

जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराका अनुसार एम्बुलेन्स चालकलाइ सुरक्षित पोशाक पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण स्प्रे किट एकएक थान प्रदान गरिएको छ ।

 

एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरी चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना संक्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको जोरायल गाउँपालिकाका एम्बुलेन्स चालक लेकेन्द्रबहादुर छेडालले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कोरोना संक्रमित बोक्दा चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर एम्बुलेन्सको स्वरुप परिर्वतन गरिएको छ, जस्ले गर्दा हामी चालक सुरक्षीत हुने छौँ ।”

 

त्यस्तै एम्बुलेन्स चालकलाई जिल्ला अस्पतालका चिकित्सक टोलीले पिपिइ, पञ्जालगायत सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ्ग गर्ने तरिकाबारेमा तालीम समेत प्रदान गरेको चालक छेडालले जानकारी दिनुभयो ।

 

त्यस्तै यहाँका आइसोलेसन निर्माण गरिएका अस्पतालमा कोरोना सङ्क्रमितले मात्रै प्रयोग गर्ने गरी एक थान विशेष प्रकारको स्ट्रेचर पनि खरिद गरेका छन् । अस्पतालमा प्रयोग भइरहेको फलामको स्ट्रेचरमा अन्य बिरामी ओसार्नुपर्ने भएकाले एम्बुलेन्सबाट बिरामी झारेर आइसोलेशन वार्डसम्म लैजान अस्पतालहरुमा विशेष प्रकारको स्ट्रेचर खरिद गरिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्ण्ट डा. ज्योती पाण्डेले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “कोरोना संक्रमित बिरामी बोक्न हामीले विषेश प्रकारको छुट्टै स्ट्रेचर खरिद गरेका छौँ, जस्ले गर्दा अरुलाइ जोखिम हुने खतरमा कमि आउने छ ।”

 

त्यस्तै जिल्ला अस्पतालले आइसोलेशन वार्ड तयार पारेर कोरोना भाइरस (कोभिड–१९) का बिरामी उपचारका लागि आएमा उपचार गर्ने सामान्य सुरक्षित सामग्रीसमेत नभएको गुनासो गरेपछि जिल्लाका प्रत्येक स्थानीयतहमा रहेका स्वास्थ्य संस्थालाई सुरक्षित पोशाक तथा पिपिई, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान गरिन थालिएको बताइएको छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि केही दिन पहिले रकम बिनियोजन गरेपछि जिल्ला स्वास्थ्य कार्यालय डोटीले कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकका लागि पिपिई,एन नाइन्टीफाइभ मास्क र भाइरस निर्मलीकरण स्प्रे किट खरिद गर्नुका साथै जिल्लाका सबै स्वास्थ्यचैकीलाई वितरण समेत गर्न थालेको बताइएको छ ।

 

जिल्लामा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कसैमा पनि नदेखिए पनि बिरामी खेखिएको खण्डमा तत्काल उद्दार तथा उपचार गर्नकालागि सम्पूर्ण तयारी गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “राष्ट्रदेब पशुपतिनाथ र माता शैलेश्वरीका कृपाले जिल्लामा अहिले सम्म कसैमा पनि कोभिड–१९ को संक्रमण देखिएको छैन, देखिएको खण्डमा उपचार गर्न सहज होस भन्ने उदेश्यले हामीले सम्पूर्ण तयारी पुरा गरेका छौँ, आत्तिनु पर्ने अवस्था केही छैन् ।”

 

छिमेकी मुलुक भारतबाट काम गरेर आएका ३११ जना स्थानीयलाइ भने यहाँका स्थानीयतहले निर्माण गरेका क्वारेन्टाइनमा राखि दैनिक चेक जाँच गरिन थालिएको छ । क्वारेन्टाइनमा राखिएका कसैमा पनि कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो ।