स्थानीयद्वारा लखेटिए गाउँपालिकाको टोली, बिद्यालयमा क्वारिन्टाइन राख्न दिइएन


मानबहादुर बोहरा, बझाङ ।
आफ्ना गाउँमा क्वारिन्टाइन बनाउन खोजिएको भन्दै गाउँलेद्वारा गाउँपालिकाको टोली लखेटिएको छ । भारत बाट सनिवार (हिजो) आएका बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ५ का ९ जनालाई राख्न पाउटाको रत्न माध्यमिक बिद्यालयमा गाउँपालिकाले क्वारिन्टाइन बनाएको थियो ।

 

तर, त्यहाँका स्थानीयले कोरोना लाग्ने डरले आफ्नो गाउँको बिद्यालयमा क्वारिन्टाइन बनाउन नदिएको बताइएको छ । बिद्यालयमा क्वारिन्टाइन बनाएर गाउँपालिकाले भारतबाट आएकाहरुलाई राख्न सबै ब्यवस्था मिलाइसकेपछि सोहि बिद्यालयका लेखापाल रघुबिर बोहरा, शिक्षक हरिलाल ठगुन्ना र ट्रक चालक भक्त बोहराको नेतृत्वमा आएका स्थानीयले अवरोध गरेको केदारस्युँ गाउँपालिकाका सुचना अधिकारी लेखराज रावलले जानकारी दिनुभयो ।

 

स्थानीयले क्वारिन्टाइन राख्न अबरोध गर्नुका साथै गाउँपालिकाको टोलीसँग रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै भारतबाट आएकाहरुलाई समेत अवद्र व्यवहार गरेकोे बताइएको छ ।

 

आफ्नो गाउँको बिद्यालयमा क्वारिन्टाइन बनाउन नदिने भन्दै गाउँलेहरु आएपछि झडप समेत हुन खोजेको र नराम्रो अवस्था सृजना हुने भन्दै आफूहरु त्यहाँबाट भागेको अधिकारी रावलले बताउनु भयो । भारतबाट फर्केका सबै ९ जनालाई त्यहाँबाट सारेर वडा नम्बर ५ कै चौडेलीको एक बिद्यालयमा राखिएको छ ।